काठमाडौँ, ११ कात्तिक । गृहमन्त्री रमेश लेखक गैरआवासीय नेपाली नेपालका अवैतानिक राजदूत भएको बताउनुभएको छ ।
गैरआवासीय नेपाली दिवस तथा वार्षिक साधारण सभा कार्यक्रममा गृहमन्त्री लेखकले गैरआवासीय नेपालीले नेपालको राष्ट्रियता बलियो बनाएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपालका लागि केही गर्न उद्देश्य राख्नुभएको छ । जुन देशको नागरिक भएपनि नेपाली हुँ भनिराख्नुभएको छ । गैरआवासीय नेपाली अवैतानिक राजदूत हुनुहुन्छ । तपाईंहरु रहेको देशमा तपाईंको अनुहार र व्यवहारमा नेपाल देख्छन् । तपाईंले संसार फैलिँदा नेपालको राष्ट्रियता बलियो बनाएको छ ।’
गैरआवासीय नेपालीको उदेश्य नेपालको आर्थिक उन्नति भएको भन्दै संसारमा नेपालीहरुले उत्कृष्ट काम गरिरहेको गृहमन्त्री लेखकले बताउनुभयो ।
‘त्यो उत्कृष्टता नेपालका लागि पनि काम लाग्नुपर्छ । तपाईंको अनुभव र शिक्षा नेपालका लागि उपयोग गर्नुपर्छ । त्यसका लागि हामी वातावरण बनाउन लाग्छौँ,’ उहाँको भनाइ थियो ।
यस्तै, गैरआवासीय नेपालीको आर्थिक समाजिक र सांस्कृतिक अधिकारको सम्बोधन गर्न सरकार कानुन संशोधनको तयारीमा रहेको गृहमन्त्री लेखकले बताउनुभयो ।