भुटानलाई हराउँदै बंगलादेश फाइनलमा

काठमाडौँ, ११ कात्तिक । डिफेन्डिङ च्याम्पियन बंगलादेश फराकिलो जितसहित काठमाडौँमा जारी साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको पहिलो सेमिफाइनलमा भुटानलाई ७–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुग्न सफल भएको हो ।

बंगलादेशलाई जिताउन तोहुरा खातुनले ह्याट्रिक गर्दा, सविना खातुनले २ गोल गरिन् । यसैगरी ऋतु पोर्ना चक्मा र शिउली अजिमले एक एक गोल थपेका थिए । भुटानका लागि सातौं मिनेटमा ऋतुले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाइन् ।

त्यसपछि लगातार भुटानमाथि दबाब बनाएको बंगलादेशले उत्कृष्ट प्रदर्शन गरेको थियो । १५औँ मिनेटमा तोहुराले डिबक्स बाहिरबाट प्रहार गरेको बल गोलमा परिणत भएपछि बंगलादेश २–० ले अघि बढेको थियो ।

२५औँ मिनेटमा बंगलादेशले तेस्रो गोल गरेको थियो । बंगलादेशकी सविनाले व्यक्तिगत पहिलो गोल गरेकी थिइन् । ३४औँ मिनेटमा तोहुराले ब्यक्तिगत दोस्रो गोल डिबक्स बाहिरबाट गरेकी थिइन् ।

३७औँ मिनेटमा सविनाले पनि व्यक्तिगत दोस्रो गोल गर्दा बंगलादेश पहिलो हाफमै फराकिलो अग्रतामा अघि बढेको थियो । ४१औँ मिनेटमा भुटानका लागि डेकी ल्हाजोमले गोल गरेर अन्तर ५–१ मा झारिन् ।

पहिलो हाफमा ५ गोल गर्दा १ गोल ब्यहोरेको बंगलादेशले दोस्रो हाफमा अरु २ गोल थपेको थियो । ५८औँ मिनेटमा तोहुराले ह्याट्रिक पूरा गर्न सफल भइन् । उनले ह्याट्रिक पूरा गर्दा बंगलादेश ६–१ ले अघि बढेको थियो ।

७२औँ मिनेटमा, बंगलादेशकी शिउली अजिमले गोल गरेपछि बंगलादेश ७–१ गोल अन्तरले विजयी हुँदै फाइनलमा पुग्न सफल भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *