काठमाडौँ, १३ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति तथा सांसद डा.स्वर्णिम वाग्लेले सरकारले दल फुटाउने विधेयक ल्याएर साना दल फुटाएर रवि लामिछानेलाई सिध्याउने खेलमा रहेको बताउनुभएको छ ।
मंगलबार सहकारी बचत अपचलनमा पक्राउ परेका पार्टी सभापति लामिछानेलाई हिरासतमुक्त गराउन बालुवाटार भएको विरोध प्रदर्शनमा उहाँले सरकारले दल फुटाउने विधेयक ल्याएर साना दल फुटाउने र लामिछानेलाई सिध्याउने एवम् रास्वपालाई थर्काउने, धम्काउने, गलाउने रणनीतिमा लागि परेको बताउनुभयो ।
उहाँले स्वतन्त्र न्यायीक निष्पक्ष छानबिन आयोग बनाएर सबै भ्रष्टहरुको छनबिन आफूहरुले गर्ने दाबी पनि गर्नुभयो । उहाँले अरु सहकारी ठगीको आरोपीहरुलाई चाहिँ सरकारले बचाइराख्दा रविलाई हिरासतमा राख्नु कुनै औचित्य नरहेको बताउनुभयो ।
‘नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ र ऋषिकेश पोखरेल जस्तालाई पनि आरोप लागेको छ । तर, सरकारले उनीहरुलाई बचाइराखेको छ । जिबी राईका सल्लाहकार आज राष्ट्रपतिका सल्लाहकार छन् । उहाँहरूलाई चाहिँ उन्मुक्ति दिने स्वतन्त्र हिँड्न दिने तर रविलाई हिरासतमा राख्नु औचित्य छैन । अविलम्ब उहाँ रिहा हुनुपर्छ ।’
सांसद सुमना श्रेष्ठले रास्वपाको सरकारले आफूहरुको आन्दोलन कमजोर बनाउन प्रयास गरिरहेको बताउनुभयो । उहाँले आफूहरुलाई गलाउने र कमजोर बनाउने तथा फुटाउने सरकारको प्रयासलाई प्रतिरोध गर्नुपर्ने बताउनुभयो ।