काठमाडौँ, १४ कात्तिक । आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा स्कटल्यान्डमाथि नेपालले पाँच विकेटको जित निकालेको छ ।
पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४१.४ ओभरमा सबै विकेट गुमाउँदै १५४ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको नेपालले १५५ रनको लक्ष्य पाँच विकेटको क्षतिमा २९.५ ओभरमा पूरा गरेको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले ४१.४ ओभरमा सबै विकेट गुमाउँदै १५४ रन बनाएको थियो ।
स्कटल्याण्डलाई सस्तैमा समेट्न नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए । त्यस्तै, करण केसी, सोमपाल कामी र गुल्सन झाले दुई÷दुई विकेट हात पारे ।
अलराउण्ड प्रदर्शन गरेका आरिफ शेखले बलिङतर्फ तीन ओभर बलिङ गर्दा ९ रन दिएर एक विकेट हात पारे भने ब्याटिङतर्फ अर्धशतक बनाउँदै म्यान अफ द म्याच बने । नटआउट शेखले ४२ बलको सामना गर्दा आठ चौकाको मद्धतमा ५१ रन बनाएका हुन् ।
ब्याटिङतर्फ नेपालका लागि कुशल भुर्तेल र गुल्सन झाले २५÷२५ रन बनाए । कुशलले ३४ बलमा दुई चौकाको मद्धतमा २५ रन जोड्दा नटआउट गुल्सनले ३० बलमा तीन चौका र एक छक्काको मद्धतमा २५ रन बनाएका हुन् ।
ओपनर आसिफ शेखले ३४ बलमा एउटा चौकासहित २१ रन बनाए भने अर्का ओपनर अनिल शाह १९ बलको सामना गर्दा एक छक्कासहित १३ रन बनाएर आउट भए ।
अमेरिकासँगको अघिल्लो खेल गुमाएको नेपालले लिग २ मा १० खेल खेल्दा दोस्रो जित निकालेको हो ।