‘कर्णाली याक्स’ जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने छ : सोमपाल कामी

काठमाडौँ, २४ कात्तिक । नेपाली राष्ट्रिय क्रिकेट टिमका तीव्र गतिका बलर सोमपाल कामी ‘कमेडी दरबार’ को सेटमा पुगेर एनपिएल फ्रेन्चाइज टिम ‘कर्णाली याक्स’ को बारेमा जानकारी गराउनुभएको छ ।

शनिबार ‘कमेडी दरबार’ मा पुगेर राष्ट्रका चर्चित क्रिकेटरहरु सोमपाल कामी, रित गौतम र मौसम ढकालले ‘कर्णाली याक्स’ को बारेमा जानकारी गराउनुभएको हो ।

‘कमेडी दरबार’ मा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मार्की खेलाडी सोमपाल कामीले ‘कर्णाली याक्स’ को टिम जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने बताउनुभयो । उहाँले ‘कर्णाली याक्स’ को टिममा जोडिन पाउँदा खुसी लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘ ‘कर्णाली याक्स’ टिम मैदानमा जित्ने लक्ष्यका साथ उत्रिने छ । जति पनि खेल खेल्छौँ जित्नकै लागि भनेर खेलिरहेका हुन्छौँ । सबै टिमहरु एकदमै राम्रो छन् तर महत्त्वपूर्ण कुरा यो हो की त्यो दिन राम्रो खेल्न सकियोस् भन्ने हो । टी-२० क्रिकेट फास्ट खेल्ने क्रिकेट हो कसले जित्छ त्यो भन्न सकिँदैन तर हाम्रो ‘कर्णाली याक्स’ टिम एकदमै राम्रो छ ।’

साथै उहाँले भविष्यमा नेपाली क्रिकेट टिमले राम्रो नतिजा लिएर आउने बताउनुभयो । कर्णाली याक्सको मार्की खेलाडीमा राष्ट्रिय टिमका तीव्र गतिका बलर सोमपाल कामी छन् ।

प्रतियोगिताको लागि कर्णाली याक्सले अक्सनबाट ‘ए’ श्रेणीमा राष्ट्रिय टोलीका गुल्शन झा, देव खनाल र नन्दन यावदलाई समावेश गरेको छ । त्यस्तै, ‘बी’ श्रेणीमा अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन् ।

विदेशी तीन खेलाडी पनि अनुबन्ध गरिसकेको छ । कर्णाली याक्सले वेष्ट इन्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतलाई अनुबन्ध गरेको छ ।

प्रतियोगिताकै लागि कर्णाली याक्सले हस्पिटालिटी पार्टनरमा होटल हिल्टनसँग सम्झौता गरिसकेको छ । प्रतियोगिता १५ मंसिरदेखि ६ पुससम्म हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *