नेपाली बडीबिल्डरहरुको टोली स्वदेश फर्कियो

काठमाडौँ, २८ कात्तिक । माल्दिभ्समा सम्पन्न पन्ध्रौँ विश्व शारीरिक सुगठन तथा फिजिक च्याम्पियनसिपमा भाग लिइ नेपाली बडीबिल्डरहरुको टोली स्वदेश फर्किएको छ ।

च्याम्पियनसिपमा पदक विजेता बडीबिल्डरहरु रुजेश शाही, प्रज्वलमान शाक्य र रजनी श्रेष्ठको टोलीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै बडीबिल्डर रजनी श्रेष्ठले केटीहरु पनि पुरुषहरुभन्दा कम छैन भनेर देखाउनको लागि एकदमै ठुलो अवसर प्राप्त भएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘महिलाहरु घरमै सीमित नभएर बाहिर गएर पुरुष सरह काम गर्न सक्ने रैछौँ । हाम्रो देश नेपालको नाम बाहिर लगेर चिनाउन सक्ने रहेछौँ हामी पुरुषहरु भन्दा कम छैनौँ भनेर देखाउनको लागि एकदमै ठुलो अवसर प्राप्त भएको छ । यसरी भाग लिन पाउँदा एकदमै खुसी पनि लागेको छ ।’

नेपालका तीन बडीबिल्डर रुजेश शाही, प्रज्वलमान शाक्य र रजनी श्रेष्ठले १५औँ वर्ल्ड बडीबिल्डिङ एन्ड फिजिक स्पोर्टस् च्याम्पियन्सिप २०२४ मा रजत पदक जित्नुभएको छ ।

विश्व बडीबिल्डङ एन्ड फिजिक स्पोर्टस् फेडरेसन्ससँगको सहकार्यमा बडीबिल्डिङ एसोसिएसन अफ मालदिभ्सद्वारा मालेमा आयोजित भएको प्रतियोगितामा रुजेशले ६० किलो, प्रज्वलले ४० वर्षमाथि र रजनीले ५५ किलोमाथि दोस्रो स्थान हासिल गर्नुभएको हो । प्रतियोगितामा नेपालका ६ खेलाडीले सहभागिता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *