प्रधानमन्त्री पद छाड्दा कम्फर्टेबल र रिल्याक्स अनुभव गरेको छु : प्रचण्ड

काठमाडौँ, ३० कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री छाड्नुपर्दा कुनै चिन्ता र पीडा नभएको बताउनुभएको छ ।

शुक्रबार नेपाल राष्ट्रिय प्राध्यापक संगठनका पूर्वकेन्द्रीय संयोजक अखिलेश्वर लाल दासको दोस्रो स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले इतिहासले जसलाई मिल भनेको छ, तिनीहरु मिल्नुपर्ने इतिहास र लोकतन्त्रले जोसँग मिल्न हुँदैन भनेको छ तिनीहरुसँग मिल्न नहुने बताउनुभयो ।

उहाँले प्रचण्डलाई सरकार छाडेको चिन्ता पीडा छ भन्नेमा सत्य नभएको भन्दै प्रधानमन्त्री हुँदा भन्दा कम्फर्टेबल र रिल्याक्स अनुभव गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘म चिप्लो कुरामा चिप्लिए र अहिले राजनीतिक अलिक जटिल हुँदै गएको कुरा मलाई महसुस भएको छ । हामी सबैले पनि आफू पनि कहाँ कहाँ चिप्लियौँ भन्ने इमान्दार आत्मसमीक्षा गर्ने हो भने इतिहासले जसलाई मिल भनेको छ, तिनीहरु मिल्नुपर्छ, इतिहास र लोकतन्त्रले जोसँग मिल्न हुँदैन भनेको छ, तिनीहरुसँग मिल्न हुँदैन । यो कुराको चेतना आजको आवश्यकता हो । यसो भन्दा प्रचण्डलाई सरकार छाडेको चिन्ता पीडा भएको छ भन्छन्, त्यो होइन । विल्कुल होइन अहिले मैले प्रधानमन्त्री हुँदा भन्दा कम्फर्टेबल फिल गरेको छु, रिल्याक्स छु । जनताको बीचमा गएको छु । ’

उहाँले समाजमा बढी अराजकता र निरङ्कुशतातिर फर्काउने कसरतहरु भइरहेको बताउनुभयो । पार्टीभित्रै पनि संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य मान्यताबाट पछि हट्न खोज्ने कसैको मनसाय भएको भन्दै त्यसलाई सफल हुन नदिने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो,‘हामी आज देख्छौँ समाजमा अलि बढी अराजकता र निरङ्कुशतातिर फर्काउने कसरतहरु भइरहेको छ । एकातिर हामीले स्थापित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य मान्यताबाट पछि हट्न खोज्ने हामीभित्र नै कसैको मनसाय त्यसलाई पनि सफल हुन नदिनुपर्ने आवश्यकता छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *