कांग्रेस र एमालेको उद्देश्य भ्रष्टाचारीहरुलाई रक्षा गर्ने हो : प्रचण्ड

काठमाडौँ, १ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस र एमालेको उद्देश्य भ्रष्टाचारीहरुलाई रक्षा गर्ने भएको बताउनुभएको छ ।

शनिबार माओवादी काभ्रे–काठमाडौँ सम्पर्क समितिको भेलालाई सम्बोधन गर्दै उहाँले भ्रष्टाचारको विरोध गर्नेहरुलाई सरकारले केही न केही बहानामा दबाउन खोजेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले सरकारमा हुँदा सामाजिक न्याय र सुशासनको पक्षमा केही रेकर्ड बनाउने कोसिस गर्‍यौँ । त्यही कोसिस गरेबापत अहिले हामी सरकार बाहिर आउने, हामीले भ्रष्टाचारविरुद्ध अभियान चलाएवापत भ्रष्टाचारीहरुलाई जोगाउनकै लागि अप्राकृतिक ढंगले पहिलो र दोस्रो पार्टी मिलेर सरकार बनाएका छन् । यहाँसम्म आउँदा उनीहरुको उद्देश्य सुशासन होइन, भ्रष्टाचारीहरुलाई रक्षा गर्ने र त्यसका विरोध गर्नेहरुलाई कुनै न कुनै रुपले दमन गर्नेतिर केन्द्रित छन् ।’

उहाँले भ्रष्टाचारीलाई जोगाउनकै लागि मिलेको भन्ने प्रष्ट भइसकेको बताउनुभयो । उहाँले कांग्रेस र एमाले जस्ता संसदवादीसँग मिल्दा फोहोर आएकाले पखाल्न पनि नयाँ आन्दोलनमा जानुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले कांग्रेस र एमाले जस्ता संसदवादी र प्रतिक्रियावादीहरुसँग मिलेर सरकार बनाउँदा हामीमा पनि कहीँ न कहीँ फोहोर हामीसित पनि केही आएकै छ । त्यसलाई पखाल्न पनि नयाँ आन्दोलनमा जानैपर्छ । नयाँ समीक्षा गर्नैपर्छ ।’

उहाँले अहिले सरकारबाट बाहिरिएपछि माओवादीलाई चुनौतीसँगै अवसर प्राप्त भएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *