खोला तथा सडक मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन

काठमाडौँ, ६ मंसिर । भूमि अधिकार संरक्षण संघर्ष समिति र गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले खोला तथा सडक मापदण्ड पूर्ण रुपमा खारेजीको माग गर्दै र्‍याली निकालेको छ ।

बिहीबार ललितपुरको कुपण्डोल पुलबाट कंकेश्वरी मन्दिर परिसर इनाटोलमा भेला भएर माइतीघरसम्म खबरदारी र्‍याली गरिएको हो ।

कार्यक्रममा सहभागी अभियान्ता राजाराम तन्दुकारले सहर सवारी साधनमैत्री होइन जनतामैत्री हुनुपर्नेमा काठमाडौँ महानगरले जनताको निजी सम्पत्तिलाई बिना मुआब्जा, बिना क्षतिपूर्ति हडप्ने, डोजर लगाउने जस्ता त्रासपूर्ण गलत कामहरु गरिहेको बताउनुभयो ।

उहाँले अहिले आफूहरुले खबरदारी मात्र गरेको भन्दै माग पूरा नभए काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन (बालेन्द्र) शाहलाई महानगर निषेध कार्यक्रम पनि घोषणा गर्ने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो,‘सहर सवारी साधनमैत्री होइन, जनतामैत्री हुनुपर्छ । जनताको निजी सम्पतिलाई बिना मुआब्जा, बिना क्षतिपूर्ति हडप्ने, डोजर लगाउने, त्रास सिर्जना गर्ने कामहरु गलत भइरहेको छ । हाम्रो खबरदारी मात्र हो, भएन भने हामी यस्तो काम गर्ने प्रमुखहरुलाई कार्यालय प्रवेश निषेध गर्छौँ । जस्तै, बालेनलाई हामी काठमाडौँ महानगर निषेध कार्यक्रम पनि घोषणा गर्न सक्छौँ ।’

कार्यक्रममा सहभागीहरुले मापदण्डका नाममा जनतालाई उठिबास गर्न पाइँदैन, गैरन्यायिक मापदण्डको नाममा राज्यद्वारा लुटिएको भूमि फिर्ता गर, जनतालाई उठिबास गर्ने गैरन्यायिक सडक तथा खोला मापदण्ड खारेज गर, आवास र सम्पत्तिको सवैधानिक हकको ग्यारेन्टी गर, निजी घरजग्गामाथि हस्तक्षेप बन्द गर लगायतका प्ले कार्डहरु प्रदर्शन गरेर विरोध जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *