काठमाडौँ, ७ मंसिर । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी माघमा ‘बी’ डिभिजन लिग सञ्चालन गर्ने भएको छ ।
एन्फाले माघ १३ गतेदेखि ‘बी’ डिभिजन लिग सञ्चालन गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको हो ।
एन्फाले ‘बी’ डिभिजन लिगमा सहभागी क्लबहरूलाई लाइसेन्सिङ प्रक्रियामा लैजाने, क्लबहरुको पुरानो बक्यौता उपलब्ध गराउने, खेलाडी दर्ता फिफा कनेक्ट डिजिटल प्लेटफर्ममार्फत् गर्ने जनाएको छ ।
एन्फाले सहिद स्मारक ‘बी’ डिभिजनका केही खेल दशरथ रंगशालामा र बाँकी खेलहरु एन्फा कम्प्लेक्समा सञ्चालन गर्ने जनाएको छ ।
एन्फाले मंसिर २१ गतेसम्म क्लब दर्ता गर्ने, मंसिर २३ र २४ गते फिफा कनेक्ट वर्कसप गर्ने, मंसिर २५ र २६ गते क्लब लाइसेन्सिङ वर्कसप गर्ने, पुस १३ गते खेल तालिका प्रकाशन गर्ने र माघ १३ गतेदेखि प्रतियोगिता सञ्चालन गर्ने जनाएको छ ।