क्रसर निर्माणमुखि सामाग्रीसम्बन्धी विधेयक चाँडै संसद्‌मा पुर्‍याउने तयारीमा छौँ : रामहरि खतिवडा

काठमाडौँ, ११ मंसिर । राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले नेपालमा क्रसर निर्माणमुखि सामाग्रीसम्बन्धी विधेयक आगामी अधिवेशनमा संसदमा पुर्‍याउने तयारीमा लागेको बताउनुभएको छ ।

मंगलबार काठमाडौँमा आयोजित नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको नवनिर्वाचित कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण तथा पदभार ग्रहण कार्यक्रममा उहाँले क्रसर निर्माणमुखि सामाग्रीसम्बन्धी विधेयक समितिमा आएको भन्दै यसलाई छिट्टै संसद्‌मा लाने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा क्रसर निर्माणमुखि सामाग्रीसम्बन्धी कानुन निर्माण भइनसकेको अवस्थामा अहिले नेपाल सरकारले राज्य व्यवस्था तथा सुशासन समितिमा यो विधेयक आएर बसेको छ । यसलाई कसैको मुख नहेरी, मेरो र तेरो नभनि यो विधेयकलाई छिट्टै आगामी अधिवेशनमा संसद्‌मा पुर्‍याउने तयारीमा लागेको जानकारी गराउन चहान्छु ।’

यसको साथै उहाँले देशका प्रत्येक उद्योगहरुलाई अनुभुत हुने खालको कानुन निर्माण गर्ने पक्षमा जाने भन्दै यसमा कुनै जाति, पार्टी, समुदाय, नहेरी समग्र देशका लागि आवश्यक पर्ने कानुन निर्माण गर्ने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सहजता र सहजीकरण गर्न हामी निर्माण व्यवसायी र क्रसर व्यवसायीलाई मात्र होइन देशका प्रत्येक उद्योगहरुलाई अथवा पिछडिएको वर्ग र समुदायलाई अनुभुत हुने गरी यो कानुन हाम्रो पक्षमा छ र हामीले कानुनअनुसार काम गर्नुपर्छ भन्ने अनुभुत दिने गरी यो कानुन निर्माण गर्ने पक्षमा हामी जाने छौँ । यसमा कुनै जाति, पार्टी, समुदाय, भाग नहेरिकन समग्र देशका लागि आवश्यक पर्ने कानुन के छ त्यसलाई हेरेर कानुन निर्माण गर्छौँ ।’

विधेयक जस्ताको त्यस्तै पास गर्दा क्रसर व्यवसायीले व्यवसाय गर्न सक्ने अवस्था नहुने भन्दै यसलाई सुधार गरेर लाने पनि उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘यो विधेयक जस्ताको त्यस्तै पास गर्ने हो भने यो भूभागमा क्रसर व्यवसायीले व्यवसाय गर्न सक्ने अवस्था हुँदैन । तर, हामी यसलाई सबैको हितका लागि कुनै मन्त्री र व्यक्तिको सनकको भरमा होइन कानुनको भरमा उद्योग चल्ने र बन्द हुने व्यवस्थाका लागि यो कानुन निर्माण गर्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *