काठमाडौँ, १३ मंसिर । कामप्रति समर्पणभाव, अथक मेहनत र लगनशीलताको परिणाम सधैँ उज्यालो हुन्छ । यस्तै एउटा प्रेरणादायी नाम हो–युनाइटेड अजोड इन्स्योरेन्सका निमित्त कार्यकारी प्रमुख डोरिन्द्रराज दाहाल (दिनेश) ।
करिब तीन दशक अघिबाट भारतको नेसनल इन्स्योरेन्सबाट सुरु भएको दाहालको बीमा यात्रामा अनेकौँ चुनौतीहरुलाई आत्मासात गर्दै उहाँले बिमा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउनुभएको छ । तीन दशकको अथक मेहनतमार्फत् दाहाल केही दिनअघि मात्रै अजोड इन्स्योरेन्सको निमित्त कार्यकारी प्रमुखको जिम्मेबारीमा पुग्नुभएको छ ।
युनाइटेड अजोड इन्स्योरेन्ससँग जोडिएर काम गरेको ६ वर्षमै उहाँले कम्पनीको बजार प्रमुखबाट निमित्त कार्यकारी प्रमुखको पदसम्मको यात्रा तय गर्नुभएको हो । किशोर अवस्थामै भारतको नेसनल इन्स्योरेन्सबाट सुरु भएको दाहालको बिमा यात्रा निमित्त कार्यकारी प्रमुखसम्म आइपुग्दा सहज भने देखिएको छैन ।
सुनसरीमा जन्मिनुभएका दाहालले स्कुले जीवन मोरङमा बिताउनुभयो । दाहाल विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा अध्ययन गरिरहँदा १९ वर्षका मात्रै हुनुहुन्थ्यो । सोही समयमा दाहालले बिमा क्षेत्रमा पाइला टेक्ने निर्णय गरे र उहाँले बीमा क्षेत्रको यात्रा भारतको नेसनल इन्स्योरेन्सबाट सुरु गर्नुभयो ।
बिमा क्षेत्रमा निर्जीवन बिमा कम्पनीबाट जागिरे जीवन सुरु गर्नुभएका दाहालले साथीभाइसँगको रमाइलो र पारिवारिक माया छाडेर जागिका लागि वीरगञ्ज पुग्नुभयो । किशोरावस्थामै जागिर सुरू गरेपछि वीरगञ्जमा कलेज पढ्दै काम गर्नुपर्दा निकै संघर्ष गर्नुपरेको दाहाल सम्झिन्छन् ।
‘घरपरिवार छाडेर वीरगञ्ज आइपुगेको थिएँ । त्यो बेला भर्खरै कम्प्युटर भित्रिएका थिए । टाइपराइटरको ‘ज्ञान’ नहुँदा सुरुवाती दिनहरुमा बिहान ७ बजे अफिस गएर अफिसमै मैले दिनको तीन घण्टा टाइप सिकेँ । खासमा वीगञ्जमा काम गर्न मन थिएन, विराटनगरमा रमाइलो गरेर बसेको थिएँ,’ दाहाल थप्नुहुन्छ,‘तर, समय र परिस्थितिले मलाई वीरगञ्ज पुर्यायो । त्यहाँ काम गर्दै साथीभाइहरूसँगको सम्बन्धले वीरगञ्जलाई मेरो दोस्रो घर बनाइदियो ।’
अथक परिश्रमको फल
करिब ४५ सय रुपैयाँ तलबबाट आफ्नो जागिरे जीवनको सुरुवात गर्नुभएका दाहालको समर्पणले छोटो समयमै कम्पनी र ग्राहकहरूको विश्वास जित्न सफल भयो । उहाँले एक वर्षको समयमै बिमा कम्पनीको एउटा डिपार्टमेन्टको जिम्मा पाउनुभयो । यस्तो उपलब्धि उहाँको मेहनत र लगनशीलताको परिणाम थियो । ‘कामप्रति समर्पणभाव भयो भने सफल भइन्छ र यसको मूल्याङ्कन पनि समयले गर्छ,’दाहाल भन्नुहुन्छ । तर, नयाँ पुस्तामा यस्तो समर्पणभाव र धैर्यको कमी देखिएको छ । ‘अहिलेको पुस्तामा एक–दुई वर्षमै ठुला उपलब्धिको अपेक्षा गर्ने र तुरुन्तै जागिर परिवर्तन गर्ने प्रवृत्ति बढ्दो छ । तर, सफल हुन धैर्य, प्रतिबद्धता, र त्याग अपरिहार्य छ ।’
निर्जीवन बिमाको गहिराइ
बिमा क्षेत्र खासगरी दुई प्रकारमा विभाजित हुन्छ—जीवन बिमा र निर्जीवन बिमा । दाहालले निर्जीवन बिमाको क्षेत्रमा आफ्नो करियर निर्माण गर्नुभएको छ । निर्जीवन बिमाले मोटर, प्रोपर्टी, मरीन, इञ्जिनियरिङजस्ता बिमाको क्षतिपूर्ति दिन्छ । ‘निर्जीवन बिमामा अथाह सम्भावना छ,’ दाहाल भन्नुहुन्छ, ‘ग्राहकलाई कन्भिन्स गरेर, वचन दिएको कुरा पूरा गर्नु नै बिमाको मूल तत्व हो, यो विश्वासकै व्यवसाय हो ।’
संघर्ष र अवसर
बिमा क्षेत्रमा अवसर र चुनौती दुवै रहेको दाहालले बताउनुहुन्छ । नेपालको वर्तमान आर्थिक समस्याले बिमा र बैंक क्षेत्रलाई प्रत्यक्ष प्रभाव पारेको छ । तर, यस क्षेत्रको भविष्य अझै उज्ज्वल छ । ‘बैंक र बिमाको सम्बन्ध नङ र मासुको जस्तो हो । सहकार्य नै यसको आधार हो,’उहाँ भन्नुहुन्छ । ग्राहकको दाबी फर्छ्यौट गर्न सजिलो नहुने तर प्रमाणले पुष्टि हुने दाबीलाई समयमै समाधान गर्नुपर्ने उहाँको धारणा छ । ‘बिमा भनेको सेतो कागजमा कालो अक्षररूपी विश्वास बेच्ने व्यवसाय हो,’उहाँ भन्नुहुन्छ ।
नयाँ पुस्तालाई सन्देश
दाहालको जीवनले नयाँ पुस्ताका युवाहरूलाई एउटा सन्देश दिन्छ—धैर्य, समर्पण, र मेहनत नै सफलता प्राप्त गर्ने आधार हो । ‘हामीले आफ्नो जीवनमा कति संघर्ष गर्यौँ, कति धूप र पानी सह्यौँ । अहिलेका युवाहरूले यो कुरा बुझ्न आवश्यक छ,’ उहाँले भन्नुभयो ।
जागिरको सुरुवाती दिनमा उहाँले १२–१४ घन्टा खटेर काम गर्ने बानी बनाउनुभएको थियो । ‘सानो कुरामा चित्त बुझेन भनेर आफ्नो भावना मिलेको संस्थालाई फ्याट्टै छाडेर हिँड्नु हुँदैन भन्ने मान्यता राख्ने दाहाल एउटै संस्थामा बीस वर्ष बस्नुपर्छ भन्ने आशय पनि राख्नुहुन्न । सोही बुझाइपछि दाहाल जेसिजको अध्यक्ष र लायन्सको चार्टर प्रेसिडेन्ट बन्नुभयो ।
स्पीच कन्टेस्टमा जेसिजमा नेपालभरबाट प्रथम भएको सुनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ,‘ग्राहकलाई म कन्भिन्स गर्न सक्छु र वचन दिएको कुरा ९९ प्रतिशत पूरा गर्छु ।’ जीवनलाई सन्तुलन राख्दै, परिवार र करियरलाई सँगसँगै अगाडि बढाउने कलामा दाहाल पोख्त हुनुहुन्छ ।
अध्यात्म र जीवनप्रतिको दृष्टिकोण
दाहालका लागि काम मात्र सबैथोक होइन । अध्यात्मप्रतिको रुचिले उनलाई सन्तुष्टि र शान्ति दिएको छ । ‘भौतिक चाहना अनन्त हुन्छ तर, अध्यात्मले जीवनलाई सन्तुलनमा राख्छ,’उहाँ भन्नुहुन्छ । उहाँ नेपाली चलचित्रहरू हेर्न रुचाउनुहुन्छ र सधैँ परिवारसँग समय बिताउन अग्रसर रहन्छन् । ‘काम गर्न गाह्रो भएपनि असम्भव केही छैन,’ दाहाल भन्नुहुन्छ । ‘सन्तुष्टि भनेको पूर्ण हुँदैन । तर, जीवन चलाउन सक्ने सीप छ भने सुखी भइन्छ,’ उहाँले भन्नुभयो ।
युनाइनेड अजोड इन्स्योरेन्समा प्रवेश
दाहाल वीरगञ्जबाट काठमाडौँ आइसक्नुभएको थियो । नेसनल इन्स्योरेन्समा क्वालिटी सेवा दिएकै कारण एभरेस्ट, प्रिमियर हुँदै युनाइटेड अजोड इन्स्योरेन्समा प्रवेश गरेको बताउनुहुन्छ । पुरानो कम्पनीमा प्रवेश गरेर स्थापित भइसकेपछि मान्छे अल्छे हुने भएकाले नयाँ कम्पनीमा प्रवेश गरी पुनः उहाँलाई संघर्ष गर्न रूचि थियो ।
त्यसैले पनि दाहालले नयाँ कम्पनी युनाइटेड अजोडमा प्रवेश गरेको सुनाउनुभयो । तथापिः जति कम्पनीमा गए, त्यति नै कम्पनी र ग्राहकको विश्वास बटुल्दै आएको उहाँ बताउनुहुन्छ । अजोड इन्स्योरेन्समा सिधैँ बजार प्रमुखको रूपमा प्रवेश गर्नुभएका उहाँले पछिल्लो समय बिमा क्षेत्रमा चुनौती र अवसर दुवै रहेको सुनाउनुभयो ।
‘चुनौती त छ, चुनौतीलाई सामना गर्न सदैव तयार हुनुपर्छ । गाह्रो भएपनि असम्भव भन्ने कुरा छैन,’ उहाँ भन्नुहुन्छ, ‘बिमाको सेक्टरमा मात्रै होइन देशमै अर्थतन्त्रको समस्या भइरहेको छ । खासगरी इन्स्योरेन्स र बैँक भनेको नङ र मासुको सम्बन्ध हुन्छ । त्यसैले बैँकसँग सहकार्य गर्नुको विकल्प नै छैन ।’ जेन्यून क्लेम समयमै फर्छ्यौट गर्न कुनै समस्या नहुने उहाँले बताउनुभयो । यदि ग्राहकले विश्वास नगरेको भए लगभग तीन दशक एउटै सेक्टरमा बिताउन कसरी सक्नु ?’ उहाँले प्रतिप्रश्न गर्नुभयो ।
बिमामा नयाँ सम्भावना
दाहालको दृष्टिकोणमा बिमा क्षेत्रले ठुलो सम्भावना बोकेको छ । तर, नेपालजस्तो मुलुकमा बिमाको महत्त्व अझै पूर्ण रूपमा बुझाउन सकिएको छैन । ‘बिमाको माध्यमबाट जीवनलाई सुरक्षित बनाउन सकिन्छ । यो क्षेत्रमा इच्छुक र लगनशील व्यक्तिका लागि अपार अवसर छ,’ उहाँ भन्नुहुनछ ।
प्रेरणा स्रोत
दृढता, लगनशीलता, र नैतिकताको बाटो समातेमा कुनैपनि क्षेत्रमा सफलता प्राप्त गर्न सकिन्छ । दाहाल कामप्रति समर्पण, संघर्षको सामना गर्ने आँट र विश्वासको महत्त्वलाई प्रतिनिधित्व गर्छन् । तीन दशकदेखि एउटै क्षेत्रमा टिकेर, विभिन्न कम्पनीहरूमा आफ्नो सेवा दिँदै, ग्राहक र कम्पनीको विश्वास जित्न सफल हुनु आफैँमा एउटा उपलब्धि हो । उहाँको जीवनले सन्देश दिन्छ—‘कर्म गर्नेको हात भगवानले चुम्छन् ।’
(नेपाल न्यूज बैंकसँग गरिएको कुराकानीमा आधारित)