काठमाडौँलाई हराउँदै जनकपुर प्लेअफमा

काठमाडौँलाई हराउँदै जनकपुर प्लेअफमा

काठमाडौँ, २७ मंसिर । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपिएल)को प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार काठमाडौँ गुर्खाजलाई हराउँदै जनकपुरले प्लेअफमा स्थान पक्का गरेको हो ।

यो जितसँगै जनकपुरको ६ खेलबाट १० अंक भएको छ । उसले अझै एक खेल खेल्न बाँकी छ । काठमाडौँले दिएको १०२ रनको लक्ष्य जनकपुरले १६औँ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

जनकपुरका लागि जेम्स निशमले २७ र हर्ष ठाकेरले अविजित २५ रनको योगदान गरे । त्यसअघि लाहिरु मिलान्था १६ र कप्तान अनिल साह ११ रनमा आउट भएका थिए ।

काठमाडौँ करण केसीले २ तथा साहब आलम र दीपेश कँडेलले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौँले १९.३ ओभरमा अल आउट हुँदै १०१ रनको झिनो योगफल तयार गरेको थियो ।

काठमाडौँका लागि जेहार्ड एरास्मसले सर्वाधिक २० रन बनाए । उनले २२ बलमा २ चौका प्रहार गरे । कप्तान करण केसीले १३ बलमा १९ रन जोडे ।

माइकल लेभिट ६ बलमा ८ रन बनाउँदै किशोर महतोको बलमा आउट भए । लेभिट मोहम्मद मोहसिनबाट समातिए ।

सातौँ ओभरमा ललित राजवंशीले दुई विकेट निकाले पछि जनकपुर खेलमा पूर्णतः हाबी भएको थियो । ललितले १७ रन बनाएका स्टेफन स्किनाजी र रनको खाता नै नखोलेका सुमित महर्जनलाई पेभिलियनको बाटो देखाएका थिए । शेर मल्लले २०औँ ओभरमा २ विकेट लिँदै काठमाडौँलाई अल आउट गरे ।

जनकपुरका लागि ललित र शेरले समान ३, मोहम्मद मोहसिनले २ तथा किशोर महतो र अरनिको यादवले समान १ विकेट लिए । हारपछि पनि काठमाडौँको प्लेअफ सम्भावना बाँकी छ ।

जनकपुरले आफ्नो अन्तिम खेल आइतबार चितवन राइनोजसँग खेल्नेछ । काठमाडौँले पोखरा र विराटनगरसँग खेल्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *