काठमाडौँ, ८ पुस । बाबु साहेव बलामी निर्देशित फिल्म ‘देव बाणी’को टिम प्रचारमा होमिएको छ । पुष १० देखि नेपाली चलचित्र हलमा लाग्ने फिल्मको प्रचारका लागि केही दिन नेपाल आउनुभएका अभिनेता कुन्दन भारद्वाजलाई समेत निर्माण युनिटले प्रचारमा व्यस्त बनाएको हो ।
पत्रकारसँग कुरा गर्दै अभिनेता भारद्वाजले आफूलाई नेपाल मनपर्ने भएकाले नेपाली फिल्ममा अभिनय गरेको प्रतिक्रिया दिनुभएको छ । उहाँले भन्नुभयो, ‘म नेपालीको मायाका लागि नेपाली फिल्म गर्दै छु ।’ कुराकानीको क्रममा अभिनेता भारद्धाजले भोजपुरी फिल्म छायांकनको क्रममा नेपाल आएको बेला नेपालमा दिल बसेको समेत बताउनुभयो ।
अभिनेता भारद्धाजले फिल्म प्रचारको अलवा काठमाडौँ र आसपासका ठाउँमा भ्रमण गर्ने समय समेत निकाल्ने बताउनुभयो । फिल्म ‘देव बाणी’मा नेपाली र हिन्दी दुवै भाषामा डबिङ भएकाले नेपाल र भारतका दर्शकको माया पाउने अपेक्षा राख्नुभयो । अभिनेत्री अनुजा लेप्चाले फिल्म ‘देव बाणी’ नेपाल र भारतमा एउटै मितिमा रिलिज गर्ने तयारी भएपनि विविध कारणले सम्भव नभएको बताउनुभयो । फिल्ममा नेपालका अलवा भारतीय कलाकार र प्राविधिकको कामका साथै एक्सन र रोमान्सले दर्शकको मन जित्ने अभिनेत्री लेप्चाको आशा छ ।
केही दिनअघि फिल्म सफलताको कामना गर्दै निर्माण पक्षले काल भैरवमा पूजा समेत गर्नुभएको थियो । काल भैरवलाई कालो धजा चढाइएको थियो भने १०८ वटा दीप प्रज्वलन गरिएको थियो । फिल्ममा अभिनेता भारद्धाज र अभिनेत्री लेप्चालाई डेब्यु गराइएको छ । फिल्ममा सुनिल थापा, ध्रुब कोइराला, घनश्याम गिरी, रबिन्द्र झा, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, काजोल राघवाणी, लक्ष्मीनाथ तिमल्सिनालगायतको अभिनय रहेको छ ।
एक्सन प्रधान फिल्ममा कुन्दन र अनुजाको स्कृन रोमान्स हेर्न पाइने निर्माण पक्षले बताएको छ । फिल्मलाई सिमरा, वीरगन्ज, र काठमाडौँमा छायांकन गरिएको हो । फिल्म नेपाली र हिन्दी भाषामा निर्माण गरिएको छ । मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टले निर्माणमा सहकार्य गरेको फिल्मको कथा निराजन मेहता मन्जिलले तयार पार्नुभएको हो ।
हरिबहादुर घलेको छायांकन र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको फिल्मको प्रस्तुतकर्तामा मौसम पौडेल हुनुहुन्छ । मिना खड्का र हिराबहादुर लेप्चा निर्माता रहेको फिल्मका कार्यकारी निर्माता मन कुमार लेप्चा र रमेश ढुंगेल झापाली हुन् । फिल्ममा तेञ्जु योञ्जन र रामजी लामिछानेको कोरियोग्राफी र तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन रहेको छ ।
मुभी पोइन्टमा प्रोष्ट प्रोडक्सन गरेको फिल्ममा मनोहर सुनामको संगीत, श्रीकृष्ण श्रेष्ठको भिएफएक्स, प्रबिन ढकालको कलर ग्रेडिङ र बन्दे प्रसादको सम्पादन रहेको छ । सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले फिल्मलाई वितरण गर्दै छ । अभिनेता कुन्दन भारद्धाज टेलिश्रृंखला ‘महाराणा प्रताप’, ‘सिंहासन र महावली हनुमान’ मा अभिनय गर्नुभएको छ । साथै उहाँले बलिउड फिल्म ‘श्रीदेवी बंगलो’ र ‘मिसन चाइना’मा अभिनय गर्नुभएको छ। उहाँ भोजपुरी फिल्ममा परिचित अभिनेता हुनुहुन्छ ।