कसले भन्यो कांग्रेस डुब्छ भनेर, हामी बचाउँछौँ : गगन थापा

काठमाडौँ, २० पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस डुब्छ भन्ने हल्ला मात्र भएको बताउनुभएको छ ।

शनिबार पोखरामा आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्नुहुँदै उहाँले बेला बेलामा पार्टीका नेताले अधिवेशन नै नहुने खतरा, पार्टी नै डुब्ने खतरा भनेर चर्चा गर्नुको अर्थ नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पञ्चायतको प्रतिबन्धित कालमा समेत पार्टी सञ्चालन गरेर आएका हामी अहिले यस्तो आनन्दको अवस्थामा छौँ । बेला बेलामा पार्टीको नेताले भनेको सुनिन्छ, अधिवेशन नै नहुने खतरा छ, पार्टी नै डुब्ने खतरा छ । कहाँबाट कसले डुबाउँछ पार्टी, त्यसै डुब्छ पार्टी छैनौँ । जो जो नेताले मञ्चमा आएर अधिवेशनको बारेमा धेरै कुरा गर्नुहुन्छ उहीँ नेताको निर्वाचन क्षेत्रमा के भइरहेको छ भन्ने कुरा सार्वजनिक गरिदिनसक्छु ।’

यसको साथै उहाँले नयाँ पार्टी र स्टन्डबाजहरूले गाली गरेको भरमा सबैजना अल्मलिएको भन्दै अब अल्मलिन नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पार्टीको काँधमा यति ठुलो जिम्मेवारी छ । एउटा नयाँ आयो आयो भनेजस्तो स्टन्डबाजहरू आएका छन्, हल्ला गरेका छन् । तपाईं हामी सबैलाई गाली गरेका छन् । आन्दोलन र त्यसको डिफेन्स गरेका छन् । हामी सबै जना अल्मलिएका छौँ । अब अल्मलिनु हुँदैन ।’

चैत्र महिनाभित्र नवीकरण नहुने क्रियाशील सदस्यको अब नवीकरण नहुने पनि उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘चैत्र महिनाभित्र नवीकरण नगर्ने काम सक्नुपर्ने छ । त्यसको शुल्क २ सय हो । चैत्र महिनाभित्र नवीकरण नहुने क्रियाशील सदस्यको अब नवीकरण हुँदैन । यो क्यालेन्डर हो, जुन जिल्लाले दिइएको समयभित्र क्षेत्रलाई क्रियाशील दिएन भने जिल्लाले दिएको त्यो क्रियाशील फार्मको नम्बरमाथि फ्रिज गरिदिन्छौँ । क्षेत्रले तलको तहलाई दिएन भने क्षेत्रको फ्रिज गरिदिन्छौँ र तल पठाउँछौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *