काठमाडौँँ, २७ पुस । आज पुस २७ पृथ्वीजयन्ती । वास्तवमा पृथ्वीनारायण शाहको तस्बिर कस्तो थियो भन्नेमा धेरैलाई अन्योलता छ । तर, सामान्यत उनको चित्रका सन्दर्भमा एउटै तस्विर दिमागमा फनफनी घुम्छ–श्रीपेच पहिरिएको र ‘चोर औँला’ उठाएको ।
उनका सालिक हुन् वा तस्बिरमा औँला ठड्याइरहेको चित्र कसरी बन्यो ? ठडिएको औँलाको अर्थ के हो ? चित्र केबल चित्रमात्र होइन इतिहास पनि हो । कपाल, आँखा, अनुहार, आभूषण, बसेको वा उभिएको तस्बिरले इतिहास झल्काउँछ ।
हुलाक टिकटका लागि पृथ्वीनारायणको चित्र कोर्ने केके कर्माचार्यले सिंहदरबार अगाडिको शालिक बनाउनुभन्दा पहिला हुलाक टिकटका लागि चित्र उतारेको दाबी गर्नुभएको छ । शालिकमा देखिएको स्केच अमर चित्रकारले उतार्नुभएको थियो । तर, त्योभन्दा अगाडि कर्मचार्यले दरबारको आग्रहमा पृथ्वीनारायण शाहको तस्बिर उतारेको बताउनुभयो ।
नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै उहाँले अमर चित्रकारले बनाएको सिंहदरबारको अगाडिको शालिक सबैभन्दा राम्रो मूर्ति भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सिंहदरबारको शालिक बनाउँदाखेरी अमर चित्रकारले निकै मेहनत गरेका छन् । त्यसमा लोकल पहिरन छ । तर, पछि चित्र उतार्दा श्रीपेज एवम् जामा लगाएको, खानदानी लुगा पहिरिएको र औँला ठड्याउने चाहिँ मैले बनाएको हो ।’
यसैगरी पृथ्वीनारायण शाह जुझारु, निर्भिक र कसैसँग नडराउने व्यक्ति हुनुहुन्थ्यो । उहाँको इतिहास, स्वाभावलाई अध्ययन गरेर चित्र कोरिएको हो । उहाँ नयाँ भिजन भएको र तागत पनि देखाउने मान्छे भएकाले आफूले सोही अनुसार परिकल्पना गरेर शाहको चित्र उतारेको बताउनुभयो ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपतिसमेत रहनुभएका कर्मचार्य भन्नुहुन्छ, ‘पृथ्वीनारायणलाई लडाकु, अलि बहादुर देखिने खालको देखाउनुप¥यो भन्ने थियो । पहिलेको चित्रमा त यो कुरा देखिएन । बहादुर देखिनको लागि नयाँ चित्र बनाउन लगाइएको हो । सुरुमा उहाँको चित्र फूल समाएर सिंहासनमा बसेको सामान्य थियो । २०२४ सालतिर टिकट पृथ्वीनारायणको टिकट निकाल्ने सरकारले निर्णय भयो । राजा महेन्द्रको इच्छा थियो । म हुलाक टिकटको डिजाइन गर्थे त्यसबेला । त्यहीँ भएको पुरानो चित्रमा फूल हटाएर मैले नै औँला राखेँ ।’
यसैगरी उहाँले पहिलेको बजारको चित्र त्यति राम्रो भएन पृथ्वीनारायणको एकीकरणकर्ताको छवि अनुसारको चित्र परिकल्पना गर्नुपर्यो भन्ने कुरा भएपछि आफूले मौलारामले कोरेको चित्रलाई समेत हेरेर र मगाएर औँला उठाएको चित्र कोरेको सुनाउनुभयो ।
‘अमर चित्रकार दरबारको सबै चित्र कोर्नुहुन्थ्यो त्यसबखत । उहाँलाई बालकृष्ण समले दरबारभित्र पुर्याउनुभएको थियो । उहाँ दरबार पुग्नुअघि दरबारको मात्र छुट्टै आर्टिस्ट भन्ने कोही थिएन । उहाँ पुगेपछि नै शाह राजाहरुका पोट्रेट भटाभाट बन्न थालेको हो,’ उहाँले अगाडि भन्नुभयो,‘अहिले चल्तीमा रहेको चित्र युरोपियन शैलीमा छ । यसलाई आधुनिक पनि भनिन्छ । राजाको त चिउँडोको तलतिर पोटिलो मासु भएको देखाउनुपर्यो । फुर्तिलो देखाउनुपर्यो । अनि चित्रमा त्यस्तै देखाइएको हो ।’
‘चित्रमा हातहतियारसहित श्रृंगारिएको छ । आभूषण छ । बहादुरीपन छ । औँला राख्नुको अर्थ भनेको राजाले एकीकरण गरेको हो भन्ने कुरा देखाउनका लागि भएको हो, उहाँले भन्नुभयो ।
साथै उनले आफूभन्दा पहिला कोरिएको चित्रले एकीकरणको म्यासेज नदिएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘उनको पहिचान कसरी गर्ने ? औँलाको चित्रले पृथ्वीनारायणलाई पहिचान दियो । यो चित्र हेर्ने मानिसका लागि चित्रको सन्देश हो–एकीकरण । पहिलेको फोटोले एकीकरणको म्यासेज दिँदैन थियो । फूलको ठाउँमा औँला थपेर एकीरणको सन्देश दिइयो । पृथ्वीनारायणको योगदान के त भन्दा एकीकरण । अनि मैले त्यो औँला थपिदिए ।’
गढवाली चित्रकारिताको जन्मदाता मानिने मौलारामले कोरेको पृथ्वीनारायण शाहको चित्रमा गढवाली शैली झल्किने गरेको पनि उहाँले बताउनुभयो । त्यतिबेलाका चित्रकारितामा कांगडा शैली र गढवाली शैलीमा रहेकाले सोहीअनुसार चित्र कोरिने गरेको कर्मचार्यले बताउनुभयो ।