काठमाडौँ, २८ पुस । अर्थमन्त्री विष्णु पौडेलले जलवायु परिवर्तनको मुद्दा कुनै मुलुक विशेषको नभइ विश्वव्यापी साझा मुद्दा भएको बताउनुभएको छ ।
शनिबार काठमाडौँमा आयोजित दक्षिण एसियामा जलवायु परिवर्तन र व्यापार दिगोपनसम्बन्धी नेपालको तेस्रो वार्षिक सम्मेलनमा उहाँले जलवायु परिवर्तनको मुद्दा साझा विषय भएको हुनाले सबै मुलुकहरु मिलेर समाधानका प्रयासहरु गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको छ र यसका असरहरु आर्थिक, सामाजिक र पूर्वाधारका क्षेत्रमा प्रष्ट रुपमा देखिँदै आएको छ । यो मुद्दा कुनै मुलुक विशेषको भन्दा पनि विश्वव्यापी साझा मुद्दा हो र यसका लागि सबै मुलुकहरु मिलेर समाधानका प्रयासहरु गर्नुपर्छ भन्ने विषयमा नेपालले अन्तराष्ट्रिय मञ्चहरुमा निरन्तर आवाज उठाउँदै आएको छ ।’
यस्तै, उहाँले जलवायु परिवर्तनबाट नेपाललाई परेको असर र प्रभावको तुलनामा जलवायु परिवर्तनमा नेपालको भूमिका नगन्य रहे पनि नेपालले आफ्नो स्रोत र साधनले सम्भव भएसम्म जलवायु उत्सर्जन न्यूनीकरण र अनुकूलनका लागि गरेको प्रयास महत्त्वपूर्ण रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘जलवायु परिवर्तनबाट नेपाललाई परेको असर र प्रभावको तुलनामा जलवायु परिवर्तनमा नेपालको भूमिका नगन्य रहेको छ । यद्यपि, नेपालले आफ्नो स्रोत र साधनले सम्भव भएसम्म जलवायु उत्सर्जन न्यूनीकरण र अनुकूलनका लागि गरेको प्रयास महत्त्वपूर्ण छन् । अन्तर्राष्ट्रिय व्यापारको दिगोपनाको लागि जलवायु परिवर्तनका मुद्दालाई सम्बोधन गर्ने सम्बन्धमा यो सम्मेलनले उपयोगी निष्कर्ष अघि सार्ने अपेक्षा गरेको छु ।’
पूर्वाधार संरचनाहरुमा बर्सेनी आउने प्राकृतिक विपत्तिकारण हुने क्षति नोक्सानीबाट आपुर्ति श्रृंखलामा अवरोध आउने भन्दै यसलाई ध्यानमा राखि जलवायुमैत्री विकास प्रक्रियामा थप प्रभावकारी प्रयास गर्नुपर्ने पनि उहाँको भनाइ छ ।