ललितपुर महानगरसँगको सहकार्यमा पाटन अस्पतालको शव गृहको स्तरोन्नति

ललितपुर, २८ पुस । पाटन अस्पतालमा रहेको शव गृहको स्तरोन्नति गरिएको छ । ललितपुर महानगरसँगको सहकार्यमा पाटन अस्पतालले शव गृहको स्तरोन्नति गरिएको हो ।

चारवटा शव राख्न मिल्ने उक्त गृहमा अब २४ वटा लाश राख्न सकिने छन् । थपिएको शव गृहको बारेमा जानकारी दिन आइतबार अस्पतालमा आयोजित कार्यक्रममा नगर प्रमुख चिरीबाबु महर्जनले मृत्युपछि पनि मानिसको सम्मान गर्न महानगरले शव गृहको स्तरोन्नतिका लागि सहयोग गरेको बताउनुभयो ।

महानगरले स्वास्थ्य र शिक्षालाई प्राथमिकता राखेको बताउनुहुँदै उहाँले भन्नुभयो,‘पाटन अस्पताल र चिडियाघरलाई कुनै पनि कुरा कमी हुन दिने छैनौँ ।’

पाटन अस्पतालसँग कोभिडको बेला पनि महानगरले सहकार्य गरेको स्मरण गर्दै बिमा कार्यक्रमको प्रथम सेवा केन्द्रअन्तर्गत सञ्चालनका लागि पनि महानगरले पाटन अस्पतालसँग सहकार्य गरेको बताउनुभयो ।

पुल्चोकमा रहेको प्रथम सेवा केन्द्रमा घुइँचो बढेको बताउँदै महानगरले अर्को उपयुक्त ठाउँमा पनि अर्को केन्द्र खोल्ने तयारी गरेको जानकारी दिनुभयो ।

अस्पतालका निर्देशक प्राडा रवि शाक्यले शव गृहको स्तरोन्नतिका लागि अपस्पतालसँग सहकार्य गरेकोमा महानगरलाई धन्यवाद दिनुभयो । झट्ट हेर्दा यो सामान्य विषय जस्तो लागे पनि मृत्युपछि पनि धेरैवटा विषयलाई ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कहिलेकाहीँ लाशमाथि लाख खप्टेर राख्नुपर्थ्यो, अब त्यस्तो अवस्था आउँदैन । लाश खप्टेर राख्दा छिटो कुहिनेदेखि विभिन्न खालका समस्यासँग झेल्नु पर्थ्यो ।’

अस्पतालका फरेन्सिक विज्ञ डा.सम्झना घिमिरेले मृत्युपछि सम्मान दिनका लागि शव गृहलाई व्यवस्थित बनाउन आवश्यक भएको बताउँदै महानगरले सहयोग गरेकोमा धन्यवाद दिनुभयो ।

उहाँले भन्नुभयो, ‘झट्ट हेर्दा लासलाई किन राम्रो ठाउँ चाहियो र जस्ता लाग्छ । तर, त्यसो होइन, लाशको पनि सम्मान गर्नुपर्छ, त्यति मात्रै होइन, व्यवस्थित हुँदा काम गर्ने वातावरण पनि हुन्छ ।’ विपद्का बेला शव राख्ने ठाउँको अझै हुने बताउँदै नयाँ बन्ने भवनमा अर्को शव गृह निर्माणका लागि पनि उहाँले पालिकालाई अनुरोध गर्नुभयो ।

अस्पतालका प्रशासन प्रमुख प्रकाश खड्काले नगरप्रमुख र नगरपालिकाले पाटन अस्पतालको आवश्यकता पहिचान गरेर सहयोग गरेकोमा धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो, ‘पाटन अस्पताल अस्पताल मात्रै होइन, यो स्वास्थ्य क्षेत्रको विश्वविद्यालय हो, धेरै धेरै धन्यवाद ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *