अकूत सम्पत्ति कमाएको अभियोगमा सिंचाइ विभागका इन्जिनियरविरुद्ध मुद्दा दायर

अकूत सम्पत्ति कमाएको अभियोगमा सिंचाइ विभागका इन्जिनियरविरुद्ध मुद्दा दायर

काठमाडौँ, २९ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिंचाइ विभागमा कार्यरत तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले श्रेष्ठ सार्वजनिक सेवामा प्रवेश गरेदेखिको आर्जनको हिसाब किताब गरेको जनाएको छ । इन्जिनियर श्रेष्ठ २०४६ असार ३० गते सरकारी सेवामा प्रवेश गरेका थिए । आयोगले सरकारी सेवामा प्रवेश गरेपछि २०७७ असार ३१ गतेसम्मको सम्पत्तिको विषयमा अध्ययन गरेको थियो ।

वैधानिक रूपमा श्रेष्ठले ११ करोड २५ लाख ६५ हजार १९९ बराबरको आर्जन गरेको पाइएको छ । यस्तै, १६ करोड १३ लाख ९५ हजार ५२८ बराबर लगानी एवम् खर्च गरेको पाइएको छ । चार करोड ८८ लाख ३० हजार ३२९ बराबरको रकमको वैधानिक स्रोत नखुलेको आयोगले जनाएको छ ।

सार्वजनिक सेवामा रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको र अस्वाभाविक जीवनयापन गरेको पुष्टि भएको आयोगको ठहर छ ।

गैरकानुनीरुपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्तिसमेत पत्नी लक्ष्मीकुमारी श्रेष्ठ, बाबु हरिकुमार श्रेष्ठ, आमा इन्द्रकमारी श्रेष्ठ, छोरा विवेक श्रेष्ठसमेतको नाममा राखेको पाइएकाले सबैलाई प्रतिवादी बनाइ आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *