काठमाडौँ, २९ पुस । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले स्थानीय सरकार भनेको जनताको सरकार भएको बताउनुभएको छ ।
सोमबार फास्टफुड एसोसियसन नेपालको आठौँ राष्ट्रिय अधिवेशनको समुद्घाटन समारोहमा बोल्नुहुँदै उहाँले सबैभन्दा बढी आम नागरिक र समुदायलाई चिनेको बुझेको सरकार नै स्थानीय सरकार भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘आम नागरिकले धेरै राम्रोसँग व्यवसाय गरिरहनुभएको छ । तर, हामी सबैले सचेत हुन जरुरी छ, सरकारले सधैँ ट्याक्स मात्र हामीलाई तिराउँछ, जरिवाना हामीलाई मात्र लगाउछ, कानुनमा मात्र बसाल्छ हामीलाई भन्ने लाग्न सक्छ । तर, स्थानीय सरकार भनेको जनताको सरकार हो । नजिकको सरकार हो, सबैभन्दा बढी आम नागरिकलाई समुदायलाई चिनेको बुझेको सरकार हो भनेर आभाष गराउनु पनि महत्त्वपूर्ण छ । त्यसकारणले पनि काठमाडौँ महानगरपालिकाले फास्टफुडकै कम्पनीहरुसँग आवद्ध रहेका सबैलाई तालिम समेत दिएका थियौँ ।’
यसैगरी उहाँले महानगर जनताको राम्रो काम गर्न सधैँ तत्पर रहेको बताउनुभयो । उहाँले राम्रो व्यवसाय गर्नेहरुलाई महानगरले प्रोत्साहन समेत गर्ने बताउनुभयो ।