जंगली जनावरको आक्रमणबाट महिलाको मृत्यु भएपछि वनमा क्यामेरा जडान

बाँके, १० माघ । बाँकेको राप्तिसोनारी गाउँपालिका भगवती सामुदायिक वनमा जंगली जनावरको आक्रमणमा परी एक महिलाको ज्यान गएपछि उक्त वन क्षेत्रमा क्यामेरा जडान गरिएको छ ।

बुधबार राप्तीसोनारी गाउँपालिका ८ की ६७ वर्षीया चेती बुढाको ज्यान गएपछि सब डिभिजन वन कार्यालय बाँकेको पहलमा क्यामेरा जडान गरिएको हो । सब डिभिजन वन कार्यालय बाँकेका प्रमुख मनोज शर्माका अनुसार सामुदायिक वन क्षेत्रमा बाघ र चितुवाजस्ता हिंस्रक जनावरको आगमन बढेको र मानवीय आक्रमण हुन थालेपछि त्यसको तथ्य पत्ता लगाउन क्यामेरा जडान सुरु गरिएको हो ।

स्थानीयले सामुदायिक वन क्षेत्रमा बाघ आक्रमण बढेको गुनासो गरेपछि क्यामेरा जडान गरिएको र बाघसँग सचेत हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘बाघ नियन्त्रण गर्ने भन्ने कुरा हुँदैन । यसका लागि आफैँ सजग बन्ने हो । हामीले जनचेतनाका कार्यक्रमहरु अघि सारेका छौँ ।’

बुधबार सोही वडामा रहेको उक्त सामुदायिक बनमा दाउरा काट्न गएकी चेतीलाई बाघ वा चितुवामध्ये कुनै एक वन्यजन्तुले आक्रमण गरी मारेको आशंका गरिएको थियो ।

भगवती सामुदायिक वनका अध्यक्ष टिकाराम वलीले उनलाई हिंस्रक जंगली जनावरकै आक्रमण भएको अनुमान गर्नुभयो । वलीका अनुसार जंगलमा बाघ नदेखिएको तर बँदेल, चित्तल, जरायोहरु भने देखिने गरेको थियो ।

उहाँले भन्नुभयो,‘स्थानीयबासीहरु निकुञ्जमा भएका जनावरहरुले दुःख दिने गरेको गुनासो आइरहेको थियो । जनावरहरु निकुञ्जमा मात्र बस्छन भन्ने छैन , हाम्रो वनमा पनि आएको हुनसक्छ । बाघ वा चितुवाले उहाँलाई आक्रमण गरेको हुनसक्छ ।’

यसअघि पनि गाउँलेका १० वटाजति बाख्रा मारेको र मानवीय क्षति नभएको उहाँले बताउनुभयो । उहाँले वन क्षेत्रमा हाल क्यामेरा जडान गरिएको जानकारी दिनुभयो । ‘वन क्षेत्रमा बाघ त देखिएको थाहा भएन तर निकुञ्जमा बाघको संख्या बढेको पाइन्छ,’ उहाँले भन्नुभयो ।

महेन्द्रराजमार्गदेखि एक किलोमिटर पूर्वी भागमा लतारिएको अवस्थामा मृतक चेतीको शव भेटिएको थियो । उक्त वननजिकै बाँके राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र पर्दछ ।

घटना स्थलमा बाँके राष्ट्रिय निकुञ्ज, निकुञ्ज सुरक्षामा तैनाथ नेपाली सेना, सब डिभिजन वन कार्यालय बाँके, इलाका प्रहरी कोहलपुर बाँके र स्थानीयहरुको सामूहिक उपस्थितिमा घट्नाको अध्ययन गर्ने र मुचुल्का तयार गर्ने काम गरिएको छ । साथै फरेन्सिक जाँचको तयारी पनि भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *