काठमाडौँ, १३ माघ । आज नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ । दिउँसो २ बजदेखि सुरु हुने बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको हो ।
बैठकमा संसद्को हिउँदे अधिवेशनबारै छलफल हुने र बैठक दुई दिन चल्ने कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिनुभयो ।
घिमिरेका अनुसार आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकहरू तथा यसअघि नै प्रस्तुत भइसकेका तर, विभिन्न समितिमा छलफलको चरणमा रहेका विधेयकहरू र सरकारले ल्याएका अध्यादेशमाथि छलफल गर्ने छ ।
आउँदो १८ माघदेखि संघीय संसद्को अधिवेशन सुरु हुँदै छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसक्नुभएको छ ।