१३ दिनदेखि लागेको पातले छाँगोको ताला खुल्यो

१३ दिनदेखि लागेको पातले छाँगोको ताला खुल्यो

पोखरा, १४ माघ । पोखराको गहना पातले छाँगो (डेविज फल्स)मा लागेको ताला १३ दिनपछि खुलेको छ ।

आफ्नो स्वामित्वमा रहेको डेविज फल्स सञ्चालनमा छोरेपाटन उच्च माविले अवरोध गरेको भन्दै पोखरा महानगरपालिकाको कार्यालय आफैँले लगाएको ताला आज बिहान खोलिएको हो ।

आइतबार पोखरा महानगरपालिकामा भएको सर्वदलीय बैठकले उक्त पातले छाँगो महानगरपालिकाले आफैँ सञ्चालन गर्ने सहमति भएपछि आज बिहानै महानगरपालिकाका प्रवक्ता एवम् पोखरा २५ का वडाअध्यक्ष मोतिराज तिमिल्सिना र पोखरा ५ का वडाअध्यक्ष बिष्णुप्रसाद बराल त्यहाँ लागेको ताला खोल्न पुग्नुभएको थियो । तर, केही स्थानीय बासिन्दा, छोरेपाटन उच्च माविका अभिभावक एवम् विद्यार्थीहरुले विरोध गरेका थिए ।

छोरेपाटन उच्च माविका पूर्वविद्यार्थी एवम् नेपाली कांग्रेसका स्थानीय नेता देवराज आचार्यले महानगर आफैँले सञ्चालन गर्ने शर्तमा आफूहरु पातले छाँगोमा लगाइएको ताला खोल्न तयार भएको जानकारी दिँदै अन्यथा आफूहरु फेरि आन्दोलनमा उत्रने चेतावनी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *