जनकपुर, २८ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली रहँदासम्म नेपालमा कम्युनिस्ट वा वामपन्थी एकता सम्भव नभएको बताउनुभएको छ ।
जनकपुरमा पत्रकारहरूसँग कुरा गर्नुहुँदै उहाँले भन्नुभयो, ‘केपीजी रहँदासम्म नेपालमा कम्युनिस्ट एकता, वामपन्थी एकता हुने स्थिति छैन।’
प्रचण्डले तत्काल सरकार बनाउनेतर्फ आफ्नो दलको ध्यान नरहेको स्पष्ट पार्दै नेपाली कांग्रेससँग पनि सहकार्यको सम्भावना नरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले हाम्रो प्राथमिकता सरकार होइन । हामी जनतामा जाने, जनचेतना अभिवृद्धि गर्ने, पार्टीलाई नयाँ ढंगले विस्तार गर्दै सुदृढ बनाउने अभियानमा छौँ । यो हाम्रो लागि मात्र होइन, देशकै लागि आवश्यक छ । उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदायका साथै मधेसी जनताका लागि झन् बढी जरुरी छ ।’
उहाँले एमाले वा कांग्रेससँग पटक–पटकको सहकार्यले आफ्नै पार्टीको राजनीतिक संस्कृति प्रभावित भएको स्वीकार गर्दै भन्नुभयो, ‘हामी पनि कहिले एमाले, कहिले कांग्रेससँग मिल्दा अलिअलि उनीहरूको संस्कृति आत्मसात् गरेजस्तो भएको छ । अब हामी फेरि आत्मसुधार गरेर जनतासँग जाने छौँ । अहिले हाम्रो प्राथमिकता सरकार होइन ।’