एसिया कप क्रिकेट पाकिस्तानबाट श्रीलंका सर्न सक्ने

एसिया कप क्रिकेट पाकिस्तानबाट श्रीलंका सर्न सक्ने

एसियन क्रिकेट काउन्सिल (एसीसी)को आयोजनामा हुने एसिया कप क्रिकेट प्रतियोगिता पाकिस्तानको सट्टा श्रीलंकामा हुने सम्भावना बढेको छ ।

पछिल्लो समय भारत र पाकिस्तानबीच बढ्दै गएको विवादका कारण पाकिस्तानमा एसिया कप नहुने सम्भावना बढेको हो । भारतीय अनलाइन इन्डियन एक्सप्रेसले एसिया कप श्रीलंकामा हुन सक्ने समाचार प्रकाशित गरेको छ ।

यसअघि आयोजकको रुपमा तोकिएको पाकिस्तानमा गएर भारतले नखेल्ने बताएपछि एसिया कप आयोजना नै अन्योलमा छ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)का सचिव जय शाह, जो एसीसीका अध्यक्ष समेत हुन्, ले भारतीय टिम बोर्डर क्रस गरेर पाकिस्तान नजाने बताएपछि आयोजनास्थल नै सार्ने निर्णय गर्नुपर्ने अवस्था आएको हो ।

पाकिस्तानले आयोजना स्थल सार्न नहुने र भारत र पाकिस्तानबीचको खेल युएईमा गर्न हाईब्रिड प्रस्ताव गरेको थियो । तर त्यो प्रस्तावमा पनि भारत सहमत भएको छैन ।

एसिया कप आयोजना स्थलको टुङ्गो यसै महिनाको अन्तिमसम्म लाग्न सक्ने इन्डियन एक्सप्रेसले समाचारमा उल्लेख गरेको छ ।

श्रीलंका, बंगलादेश र अफगानिस्तानले एसिया कप पाकिस्तानबाट सार्नुपर्ने पक्षमा रहेको विभिन्न रिपोर्टले जनाएको छ ।

पछिल्लो विकसित घटनाक्रमले एसिया कपमा पाकिस्तानको सहभागिता नै अन्योलमा परेको छ ।

नेपालले पनि यस पटक एसिया कप खेल्दैछ । घरेलु मैदानमा सम्पन्न एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान पक्का गरेको नेपाल दुई ठूला राष्ट्र भारत र पाकिस्तान रहेको समूहमा छ ।

भारत र पाकिस्तानसँग खेल्न नेपाल उत्सहित छ । तर भारत-पाकिस्तानकै विवादका कारण एसिया कप हुने कि नहुने वा कहाँ हुने नै अन्योलमा छ ।
पाकिस्तानले एसिया कप जसरी पनि आफ्नै भूमिमा गर्ने इच्छा देखाइरहँदा भारत भने अन्य टिमको साथ खोजिरहेको छ ।

भारतले पाकिस्तानमा गएर खेल्न अस्वीकार गरेपछि पाकिस्तानले हाईब्रिड मोडल सार्वजनिक गर्दै भारतको खेल युएईमा गर्ने प्रस्ताव गरेको थियो ।

तर यस विषयमा पनि ठोस निर्णय हुन सकेको छैन । यस्तै एसिया कप हुने समय सेप्टेम्बरमा युएईमा धेरै गर्मी हुने भएकाले अन्य सहभागी राष्ट्रले वान डे विश्वकपको एक महिना अघि गल्फ राष्ट्र खेल्न सहमत नहुने बताइएको छ ।
एसीसी सदस्यहरुको पछिल्लो बैठकमा ओमानले समेत एसिया कप आयोजना गर्ने चासो देखाएको थियो । तर कन्डिसन अनुसार श्रीलंका नै उपयुक्त आयोजना स्थल हुने धेरै टिमको विश्वास छ ।

पहिलो पटक एसिया कप खेल्ने तयारीमा रहेको नेपाल भने जसरी पनि एसिया कप हुनुपर्ने पक्षमा छ ।

भारत-पाकिस्तान जस्तो ठूलो टिमसँग एकै पटक प्रतिस्पर्धा गर्न पाउनु नेपाली क्रिकेटको लागि ऐतिहासिक अवसर हुनेछ ।

एसिया कपमा पाँच टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानसँगै छनोट भएर आएको नेपालले खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *