गाउँमा युवा रित्तिंदै, वृद्धवृद्धा एक्लिंदै

गाउँमा युवा रित्तिंदै, वृद्धवृद्धा एक्लिंदै

पछिल्लो तीन दशकमा बसाइसराइ बढ्ने क्रम जारी छ । आन्तरिक बसाइसराइको समस्या त छँदैछ, त्यसमाथि पछिल्ला वर्ष आप्रवासन र प्रवासका समस्या थपिएका छन् । युवाहरू कामको सिलसिलामा सहर पस्ने र विदेशिने संख्या दैनिक रूपमा बढ्दो छ । चाहे अध्ययनको बहानामा होस् या कामको खोजीमा, डीभीको नाममा होस वा अनेक बहानामा युवाहरू विदेशिंदैछन् ।

पहिले धेरै चहलपहल हुने गाउँघर अहिले सुनसान बन्दै गएका छन्, खेतीयोग्य जमिन बाँझो भएका छन् । प्रत्येक घरमा कम्तीमा ६-७ जना परिवारका सदस्य हुनेमा अहिले पूरा खाली खाली देखिन्छन् भने कतै वृद्ध बुबाआमा मात्र भेटिन्छन् ।

बिरामी पर्दा अस्पताल लैजाने मान्छे छैनन्

गाउँघरमा वृद्धवृद्धाको अवस्था एकदमै नाजुक भएको सामाजिक कार्यकर्ता सौरभ रिमाल बताउँछन् । ‘सामाजिक कामको सिलसिलामा म धेरै गाउँमा पुगेको छु, त्यहाँ युवाहरू छैनन्, वृद्धवृद्धा मात्र छन् । वृद्धवृद्धा बिरामी हुँदा अस्पतालसम्म पुर्‍याउने व्यक्ति पनि छैनन्,’ उनी भन्छन् ।

चितवन, सुनसरी, सिन्धुपाल्चोक, रामेछाप, सर्लाहीलगायत विभिन्न जिल्लाका गाउँमा पुग्दा युवाहरु एकदमै कम पाएको उनी सुनाउँछन् । ‘त्यहाँका युवा कोही कामको लागि सहर पसेका छन् भने केही विदेशिएका छन् । घरमा वृद्धवृद्धा मात्र छन्,’ उनी भन्छन् ।

युरोप, अमेरिकातिर १८ वर्ष पुगेपछि परिवारसँग अलग भएर बस्ने चलन छ, त्यसबेला वृद्धवृद्धालाई सरकारले नै हेरचाह गर्छ । नेपालमा भने परिवारसँग नै बस्ने चलन छ, वृद्धवस्थामा सन्तानले नै आमाबुबाको हेरचाह गर्नुपर्छ । ‘तर युवाहरू धमाधम विदेशिएका कारण हेरचाह गर्ने सन्तान पनि छैनन् र सरकारले पनि हेरचाह गर्दैन, जसले वृद्धवृद्धामा निराशा देखिएको छ,’ रिमाल भन्छन् ।

वृद्धवृद्धासँग आफ्नो कुरा सुनिदिने पनि कोही छैन । उनीहरुलाई आफ्नो सन्तान आफूलाई छाडेर बाहिर नजाउन् भन्ने त हुन्छ, तर देशमा भविष्य नदेखेपछि युवाहरु विदेशिन बाध्य छन् ।

‘विदेशिएका सन्तानले पैसा त पठाउलान् तर समस्या परेको बेला सहयोग गर्ने कोही हुँदैन । बिरामी परेको बेला अस्पताल पुर्‍याउने मान्छे समेत भेटिंदैन,’ रिमाल भन्छन् ।

कस्तो हुन्छ वृद्धवृद्धाको मनोदशा ?

बुढेसकाल त्यसै पनि कमजोर अवस्था हो । शरीर कमजोर हुन थाल्छ, स्मरण शक्ति र सहनशक्ति निकै कम हुन्छ । साथै विभिन्न रोगले घेरेको हुन्छ । धेरै कामका लागि अरुको भर पर्नुपर्ने हुन्छ । ‘यी सबै कुरालाई सहेर बसिरहेका वृद्धवृद्धामा एक्लोपनको समस्याले झन् सताउँछ,’ मनोचिकित्सक डा. सुमनप्रसाद अधिकारी भन्छन् ।

वृद्ध उमेर बालपनजस्तै संवेदनशील हुन्छ । यस्तो बेला विशेष हेरचाहको आवश्यकता हुन्छ । ‘तर आजभोलि प्रायः घरमा वृद्धवृद्धा मात्र हुन्छन्, सन्तान काम र पढाइको लागि सहर वा विदेश गएका हुन्छन्, जसले गर्दा वृद्धवृद्धामा मानसिक समस्या बढिरहेको छ,’ डा. अधिकारी भन्छन् ।

वृद्धावस्थामा सन्तानको माया र हेरचाह नपाउँदा वृद्धवृद्धामा विभिन्न मानसिक समस्या समेत देखिन सक्ने उनी बताउँछन् ।

‘संयुक्त परिवारमा बस्ने हाम्रो नेपाली समाज बिस्तारै एकल परिवारतिर मोडिंदै गएको छ । आमाबुबा र छोराछोरी तीन-चार जनाको परिवार । त्यो तीन-चार जनाको परिवारमा पनि छोराछोरी पढाइ तथा कामका लागि विदेशिंदा बुढा बाबुआमा मात्र घरमा हुन्छन्,’ डा. अधिकारी भन्छन्, ‘संयुक्त परिवारमा बस्दा एउटाको कुरा अर्कोले सुन्छ, सहयोग गर्छ जसले गर्दा वृद्धवृद्धा तनाव मुक्त हुन्छन् । तर वृद्धावस्थामा सन्तानसँग छुट्टिएर एक्लै बस्दा अनिद्रा, चिन्ता र निराशा बढ्छ ।’

यसले एन्जाइटी, डिप्रेसन र साइकोसिस जस्ता मानसिक रोग निम्त्याउँछ । वृद्धावस्थामा तनाव कम गर्न कतिपयमा रक्सी सेवन गर्ने लत समेत बसेको देखिने डा. अधिकारी बताउँछन् ।

के गर्न सकिन्छ ?

वृद्ध उमेरमा एक्लै बस्दा विभिन्न मानसिक समस्या आउने हुन्छ । यस्तो अवस्थामा छोराछोरीले बेलाबेलामा भेट्न जानुपर्छ । यो सम्भव नभए फोन वा भिडियो कलमा कुराकानी गरिरहनुपर्ने मनोचिकित्सक डा. अधिकारी सुझाउँछन् ।

‘बच्चा सानो हुँदा आमाबुबाले कति धेरै हेरचाह गरेर हुर्काएका हुन्छन् । बुढो भएपछि मलाई पनि सन्तानले यसरी नै हेरचाह गरोस् भन्ने आश उनीहरूमा हुन्छ,’ उनी भन्छन्, ‘त्यसैले सँगै बसेर हेरचाह गर्न सकिंदैन भने पनि उनीहरूलाई भिडियो कल गरेर सञ्चो बिसञ्चो सोध्ने, आवश्यकता के छ सोध्ने, उनीहरूलाई आफ्नो कुरा सुनाउने, उनीहरूको कुरा सुन्ने गर्नुपर्छ । यसले एक्लोपनका कारण वृद्धवृद्धामा देखिने मानसिक समस्या कम गर्न सहयोग गर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *