गुन्डुबासी मखमली टिप्न र माला उन्न व्यस्त, मूल्यमा बिचौलियाको रजगज

गुन्डुबासी मखमली टिप्न र माला उन्न व्यस्त, मूल्यमा बिचौलियाको रजगज
नरेश जोशी

भक्तपुर, ६ कात्तिक । कात्तिकको बिहानको चिसो छिरेटो छल्दै बिहान अबेरै घरको काम सकेर मखमली बारीतिर लाग्नुहुन्छ भक्तपुर सुर्यविनायक नगरपालिका–७ गुण्डुकी रचना बस्नेत । तिहार आउन एक हप्तामात्र बाँकी रहँदा रचनालगायत गुण्डुका किसानलाई पाकेको धान भित्र्याउनुभन्दा मखमली टिप्न र माला उन्नकै धपेडी छ ।

बिहानदेखि बारीमा मखमली फूल टिप्ने र दिनभरि माला गास्ने गरेको रचना सुनाउनुहुन्छ । यसरी गुण्डुका किसानले गासेका मालाहरु लिन व्यापारीहरु उनीहरुकै दैलोमा नै पुगिरहेका छन् ।

साउन अन्तिम सातादेखि नै फुल टिप्न थाल्नुभएकी रचना विगतको वर्षभन्दा फूल उत्पादन कम भएको कारण मागअनुसार उपलब्ध गराउन नसकेको बताउनुहुन्छ ।

‘अहिलेको काम भनेको नै बिहान फूल टिप्ने दिनभरि गास्ने नै हो । साउन अन्तिम सातादेखि फूल टिप्न थालेका हौँ । फुलबारी र धानबालीसँगै भित्र्याउन समय आयो । तर, पहिले ढकमक्क फुलेको फूल टिप्न र माला गास्नमै व्यस्त छौँ । तर, विगतको जस्तो फूल उत्पादन नहुँदा माग धान्न गाह्रो छ । फूल कत्ति पनि खेर गएको छैन ।’

रचना जस्तै गुण्डुका बासिन्दालाई तिहारले झपक्कै छोपेको छ । हरेकका घरआँगनमा मखमली फूलका माला गाँस्ने भीड लागेको छ । कोही फूल टिप्न र कोही माला गाँस्न व्यस्त छन् । एक्लाएक्लै र सामूहिक रूपमा माला गाँस्नेको चहलपहल देखिन्छ । विशेष गरेर स्थानीय महिलाहरु आलोपालो गरी माला गाँस्न व्यस्त छन् । प्रतिमाला ५ रुपैयाँका दरले पारिश्रमिक दिएर माला गाँस्ने काममा हरेक घरमा मान्छेहरू व्यस्त छन् ।

तिहारको भाइटीकामा दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै गलामा लगाइदिने मखमली फूल रोप्नेदेखि माला गाँस्दासम्मका लगानीका बारे जिज्ञासामा रचनाले भन्नुहुन्छ, ‘मखमली खेती त्यति सजिलो छैन । फूलमा चाँडै किरा लाग्छ । किट्नाशक औषधि छर्कनुपर्छ । खर्च पनि उत्तिकै हुन्छ । कहिलेकाहीँ त नाफाभन्दा बढी खर्च पनि हुन जान्छ ।’

किसान र व्यवसायीबीच सिधा सम्पर्क नहुँदा फुलको उचित मूल्य नपाइएको रचनाको दुखेसो छ । व्यवसायी आफैँ फूल लिन आउनुको सट्टा बिचौलियालाई पठाउने गरेको कारण विगत १५ वर्षदेखि एउटै भाउमा मखमलीको माला बेच्नुपरेको उहाँको गुनासो छ ।

उहाँले भन्नुभयो, ‘बजार बाउ राम्रो नै पाइन्थ्यो तर व्यापारीहरु गाँउमा आएनन् । किसानसम्म पुगेर सम्पर्क नै गर्दैनन् । बिचौलियाहरुलाई पठाइदिन्छन् । बजारमा मालाको मूल्य राम्रो छ तर हामीलाई १२ वर्षदेखि एउटै मूल्य दिइरहेका छन् । फूलहरु खेर फाल्नुपर्ने अवस्था चाहिँ आएको छैन । सस्तो मूल्यमा भएपनि बिक्री भइरहेको छ । विगत १५ वर्षदेखि मखमली फूलको माला प्रतिगोटा २० रुपैयाँमा बिक्री गरिरहेका छौँ ।’

त्यसैगरी, रचना जस्तै अर्की मखमली फूल व्यवसायी राधिका फुयाँलको गुनासो पनि उही छ । फूल व्यवसायी आफैँले बजार र एजेन्ट खोज्नुपर्ने भएका कारण पनि किसानले चाहेको भाउमा बिक्री गर्न नसकिरहेको उहाँले सुनानुभयो ।

उहाँले भन्नुभयो, ‘किसानले भनेको काम गर्ने हो । तर, यहाँ बजार, एजेन्ट सबै आफैँले खोजेर हिँड्नुपर्ने अवस्था छ । त्यो पनि कहिले गर्न सकिँदैन । हामीले २०, २५ रुपैयाँमा बेचेको मालालाई दुईसय रुपैयाँ तिरेर उपभोक्ताले किनिरहेका हुन्छन् । यस बीचमा बिचौलियाले कति खाने रहेछन् भन्ने स्पष्ट हिसाब निस्किहाल्छ ।’

चाडवाडको बेला भारतलगायतका क्षेत्रबाट फूल आयात रोक्न सकेमात्र मखमली फूलले बजार पाउने उनीहरु बताउँछन् । मखमली उत्पादनका बेला पानी बढी परेकाले हौसिएर फुल्ने समयमा बोटहरु ढलेका कारण यो वर्ष अपेक्षित फूल उत्पादन हुन नसकेको किसानहरु सुनाउँछन् ।

सरकारको छैन गुण्डुबासीलाई सहयोग
करिब ४० वर्षदेखि गुण्डुबासीले मखमली फुलको व्यवसायिक खेनी गर्दै आए पनि सरकारबाट अहिलेसम्म कुनैपनि सहयोग नगरेको किसानहरुको गुनासो छ । आफ्नो बारीमा फुल्ने फूल अमेरिका, अष्ट्रेलिया, अमेरिकालगायतका देशमा समेत निर्यात हुने गरेको भए पनि सरकार किसानहरुलाई प्रोत्साहित गर्नुको सट्टा भारतबाट फूल आयात गर्न व्यापारीलाई उत्साहित गराइरहेको उनीहरुको आरोप छ । देशभित्रै उत्पादित वस्तुको उचित भाउ नपाउनुको पछाडि सरकारको हात रहेको राधिका फुयालले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, ‘नेपाल सरकार भारत बिना बाँच्न नसके जस्तो गर्छ । नेपालमा उत्पादित वस्तुलाई मान्यता दिएको छैन । हामीले उत्पादन गरेको गोलभेडा समेत खेतमै कुहेर खेर गयो । भारतबाट आयात हुने फूल बन्द गर्ने हो भने हामीले मेहनत गरेको फूल सस्तोमा पनि किन्न आउँथे मानिसहरु । जसका कारण किसानले मूल्य पाउँथे । यसमा सरकारको कमजोरी छ ।’

सरकारले फूल व्यवसायका लागि किसानहरुलाई अनुदान दिन सके देशमा खपत हुने फूल उत्पादन गर्न सकिने उहाँको दाबी छ । सरकार राजनीतिको पछि मात्र लाग्दा किसान उपेक्षामा परेको अर्की व्यवसायी रचना क्षेष्ठको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, ‘फूल राम्रो बिक्री हुन सकिरहेको छैन । किसानले सबैमा गर्ने भनेकै मेहनत हो । मेहनत गर्दागर्दा पनि हुँदैन, धेरै गारो हुन्छ । मेहनतको एक छेउ पनि पाउन गाह्रो छ नेपालमा । यहाँ उत्पादन भएको वस्तु नेपालमा मात्र प्रयोग गर्ने हो भने पनि पुग्दैन । यसबारे राम्रो नीति नै छैन । सरकार आफ्नो राजनीतिमा लागेको छ । नेताहरुलाई किसानहरुले फूल खेती गर्छन्, भन्ने कुरा पनि थाहा छैन होला ।’  –नेपाल न्यूज बैंक

Leave a Reply

Your email address will not be published. Required fields are marked *