विकास निर्माणमा कांग्रेसले कुनै सम्झौता गर्दैन : डा.महत

नुवाकोट, ७ कात्तिक । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले विकास निर्माणमा कुनै सम्झौता नहुने बताउनुभएको छ ।

नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिकास्थित सिक्रे मैदान तलाखु छाप सडक स्तरोन्ती कार्यक्रमको शुभारम्भ गर्दै विकास निर्माणका लागि कुनै सम्झौता नहुने बताउनुभएको हो ।

उक्त सडक निर्माणको ठेकेदार कम्पनीलाई सुझाव दिँदै उहाँले तोकिएको मितिमा काम सम्पन्न गर्न र गुणस्तरीय काम गर्न आग्रह गर्नुभयो ।

पूर्वअर्थमन्त्री डा.महतले सडक पूर्वाधार कार्यालयका प्रमुख कार्यक्रममा उपस्थित नभएकोप्रति असन्तुष्टि जनाउँदै काम गरिसकेपछि कामको भुक्तानी समयमा दिन र अन्ट टन्ट नगर्न पनि आग्रह गर्नुभयो ।

डा.महतले माओवादी नेताहरुले उक्त सडक निर्माण गर्ने भन्दै धेरै पटक शिलान्यास गरेको तर बजेट हाल्न नसकेकोप्रति इंगित गर्दै भन्नुभयो, ‘वर्षामान पुनजी अर्थमन्त्री र हितबहादुरजी पर्यटनमन्त्री बन्नुभयो, तर उहाँहरुले नुवाकोटका लागि कहाँ बजेट राख्नुभयो त जानकारी पाउन पाए हुन्थ्यो ?’

नेता महतले काम गर्न नसक्ने र नगर्ने तर आफूले गरेको भनेर धाक लगाउने गरेको भन्दै जनतालाई झुक्याएर राजनीति नगर्न पनि चेतावनी दिनुभयो ।

डा.महतले कांग्रेसका नेता कार्यकर्तालाई कांग्रेसले गरेको कामलाई सकारात्मक रुपमा प्रचार गर्न पनि निर्देशन दिनुभयो । उहाँले राजनीतिक दल जनताको सेवा गर्ने साधक मात्र भएको भन्दै पार्टीलाई नै सेवा गर्नुपर्ने भयो भने त्यो पार्टी हुन नसक्ने पनि उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका सभापति तथा प्रदेशसभा सदस्य रमेश महत, शिवपुरी गाउँपालिका अध्यक्ष गोविन्द थपलिया, पूर्वअध्यक्ष रामकृष्ण थापा, कांग्रेस नेतृ अप्सरा थापालगायतले आ-आफ्नो मन्तव्य राखेका थिए ।

डा.महतको पहलमा उक्त सडक निर्माणका लागि संघीय सरकारको अनुदानमा कालोपत्रे गर्ने काम सुरु भएको हो । एक वर्षभित्र सडकको काम सम्पन्न गर्नेगरी ठेक्का प्रक्रियामा सम्झौता भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *