नेपाल विश्वकप छनाेटकाे ‘प्लेअफ’ मा यूएईसँग खेल्ने

नेपालले आईसीसी विश्वकप छनोटको ‘प्लेअफ’ मा यूएईसँग खेल्ने भएको छ ।जिम्बावेमा भइरहेकाे समूह चरणको अन्तिम खेलमा यूएई आयरल्यान्डसँग १ सय ३८ रनले पराजित भएपछि ‘प्लेअफ’ मा नेपालसँग खेल्ने भएको छ । खेल जुलाई २ मा हुनेछ ।

मङ्गलवार आइरल्यान्डले दिएकाे ३ सय ५० रनकाे विशाल लक्ष्य पछ्याएकाे यूएई ३९ ओभरमा २ सय ११ रनमा अलआउट भयाे । यूएईका कप्तान मुहम्मद वसीमले ४५, सञ्चित शर्माले ४४ र बसिल हमीदले ३९ रन बनाए । बलिङतर्फ आयरल्यान्डका जाेशुआ लिटिल, एन्डी म्याक्ब्राइन, जर्ज डाकरेल र कर्टिस क्याम्फेरले २/२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे आयरल्यान्डले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ४९ रन बनायाे । आयरल्यान्डका पउल स्टर्लिङले १ सय ६२ रन बनाए । यस्तै एन्ड्रियु बलबिर्नेले ६६ र हेरी टेक्टरले ५७ रन बनाए । बलिङतर्फ यूएईका सञ्चित शर्माले ३ विकेट लिए ।

आयरल्यान्डले विश्वकप छनाेटमा पहिलाे जित निकाल्दा यूएई भने जितविहीन भएकाे छ । आयरल्यान्ड समूह ‘बी’ काे चाैथाे र यूएई पाँचाैँ स्थानमा रह्याे ।यस्तै यूएईलाई हराएकाे आयरल्यान्डले अमेरिकासँग जुन ३० मा ‘प्लेअफ’ खेल्ने छ । याे दुई खेलकाे विजेताले सातौँ स्थानका लागि खेल्नेछ भने पराजित दुई टाेलीले नवौँ स्थानका लागि फेरि अर्को खेल खेल्ने छन् ।

समूह ‘ए’ बाट जिम्बावे शीर्ष, नेदरल्यान्ड्स दोस्रो र वेस्ट इन्डिज तेस्रो स्थानमा रहँदै ‘सुपर सिक्स’ मा पुगेका छन् । यस्तै समूह ‘बी’ बाट श्रीलङ्का शीर्ष, स्कटल्यान्ड दोस्रो र ओमान तेस्रो स्थानमा रहँदै ‘सुपर सिक्स’ मा पुगेका छन् । ‘सुपर सिक्स’ का शीर्ष दुई टोलीले आउँदाे अक्टाेबर/नाेभेम्बरमा भारतमा हुने विश्व कप खेल्न पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *