काठमाडौं। आज बिहिवार हरिशयनी एकादशी हो। हरिशयनी एकादशीमा धेरै जसो मानिसले घरमा तुलसीको विरुवा रापेका हुन्छन्। तुलसी घरमा रोप्दा सुख समृद्धि बढ्ने विश्वास गरिन्छ।
तुलसी बाहेक अन्य केही विरुवा पनि घरमा रोप्ने चलन हुन्छ। रुख विरुवाले घरको शोभा मात्रै बढाउँदैनन्, रुख विरुवालाई शुभ पनि मानिन्छ। यदि रुख विरुवा सही दिशामा नरोप्ने हो भने अशुभ फल दिने जनविश्वास छ।
त्यही कारण रुख विरुवा सही दिशामा रोप्नुपर्छ। आज हामी तुलसी र अन्य बोट विरुवा कसरी रोप्नुपर्छ भन्ने विषयमा जानकारी दिन गइरहेका छौं।
तुलसी कहिल्यै पनि दक्षिण भागमा रोप्नु हुँदैन। घरको दक्षिण दिशमा रोपिएको तुलसीको विरुवा फाइदा भन्दा नोक्सान बढी हुन्छ। तुलसी घरको उत्तर दिशामा लगाउनुपर्छ। उत्तर दिशा तुलसीका लागि राम्रो मानिन्छ।
यदि उत्तर दिशामा तुलसी रोप्न संभव नभए पूर्व दिशामा लगाउँदा पनि हुन्छ। विहान दैनिक तुलसीलाई जल चढाउनुपर्छ र सूर्यास्तपछि तुलसीको मठमा दियो बाल्नुपर्छ।
बर र पिपललाई हिन्दू धर्ममा पवित्र मानिन्छ। तर यी वृक्षलाई घरमा लगाउनु हुँदैन भन्ने मान्यता छ। बर पिपल घरमा लगाउँदा अशुभ फल प्राप्त हुने विश्वास गरिन्छ। त्यसकारण बर पिपल सधैं मन्दिरमा लगाउनुपर्छ।
यी रुखमा जरा जमिनको धेरै तलसम्म पुग्छ। यी रुखले साना घरलाई कमजोर बनाउन सक्छ। त्यसकारण बर पिपललाई घर वरिपरी लगाउनु हुँदैन। बर पिपललाई खुला ठाउँमा लगाउनुपर्छ।
ठूला र अग्ला रुख घरको दक्षिण वा पश्चिम दिशमा लगाउनुपर्छ। त्यस्तो ठाउँमा लगाउनुपर्छ जहाँ विहानदेखि बेलुकासम्म घाम लागुन। साना र होचा रुख विरुवा उत्तर–पूर्व दिशामा लगाउँदा अशुभ फल मिल्ने जनविश्वास छ।