मनाङमा पनि लम्पी स्किन भेटियो, देशका ७७ वटै जिल्लामा रोग फैलियो

मनाङमा पनि लम्पी स्किन भेटियो, देशका ७७ वटै जिल्लामा रोग फैलियो

हिमाली जिल्ला मनाङमा पनि लम्पी स्किन अर्थात् गाईबस्तुको (छालामा हुने गिर्खे रोग) भेटिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मनाङका पशु चिकित्सक नारायण कुसुमले चामे गाउँपालिका–२ थानचोकका किसानले पालेको एउटा गोरुमा लम्पी स्किनको भेटिएको जानकारी दिनुभयो ।

किसानले गोरु बिरामी भएको खबर गरेपछि अस्ति मङ्गलवार उपचार गर्न जाँदा गोरुमा लम्पी स्किन रोगको लक्षण देखिएको कुसुमले बताउनुभयो । मनाङमा पाइने लुलु गाईबाट जन्मिएको गोरुमा सङ्क्रमण देखिएको उहाँले बताउनुभयो । मनाङमा पहिलोपटक लम्पी स्किन रोग देखिएको हो ।

मनाङमा दुई हजार डोज लम्पी स्किन रोगविरुद्धको खोप लगाइएको पनि पशु चिकित्सक नारायण कुसुमले जानकारी दिनुभयो । अस्तिदेखि चामे गाउँपालिकाका गाई गोरुमा लम्पी स्किन रोगविरुद्धको खोप लगाउन शुरु गरिएको हो । केही दिनपछि नासो गाउँपालिकामा पनि खोप लगाउन शुरु गर्ने उहाँले बताउनुभयो । मनाङमा गाईगोरुको सङ्ख्या एक हजार पाँच सयको हाराहारीमा रहेको कुसुमले बताउनुभयो ।

मनाङमा पनि लम्पी स्किन देखिएपछि देशका ७७ वटै जिल्ला यो रोग फैलिएको पुष्टि भएको छ । लम्पी स्किन गाईभैँसीमा लाग्ने महामारी रोग हो । यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, दाना पानी कम खाने, दूध उत्पादन घट्ने, छालामा गोलो गिर्खा र गाँठाहरू देखिन्छ ।

ज्वरो आएको पशुलाई बथानबाट अलग्गै राख्न, आराम गराउन र पानी तथा पोषणयुक्त खानेकुरा दिन कृषि तथा पशुपक्षी मन्त्रालयका सहसचिव डा.रामनन्दन तिवारीको आग्रह छ । पशु सेवा विभागको पछिल्लो विवरणअनुसार देशभर ७ लाख ६४ हजारभन्दा धेरै पशु चौपायामा यो रोग देखिएको छ ।

सङ्क्रमितमध्ये ४ लाख ९३ हजार पशु निको भएका छन् । झण्डै २७ हजार पशु मरेका छन् । अहिले २ लाख ४४ हजारभन्दा धेरै पशुमा रोगको सङ्क्रमण छ । समयमै उपचार, नियन्त्रण तथा रोकथाम गर्न नसके झण्डै २५ लाख पशुचौपायामा सङ्क्रमण फैलिने र एक लाख गाईभैँसी मर्ने नेपाल पशु चिकित्सा परिषद्को अनुमान छ ।

लम्पी स्किन रोग नियन्त्रणमा सरकार गम्भीर नभएको र राहतको मागसहित किसानले आन्दोलन थालेका छन् । गाईबस्तु मरेर अर्बौँ रुपैयाँको नोक्सानी हुँदा समेत राहतका कुनै कार्यक्रम नआउँदा किसान मर्कामा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *