ठाउँ, समय र कर तोकेर नयाँ ‘लेन’ बनाउने हैन त बालेन !

ठाउँ, समय र कर तोकेर नयाँ ‘लेन’ बनाउने हैन त बालेन !

काठमाण्डाै महानगरलाई मेयर बालेनले सम्हालेदेखि शहर ‘लेन’ मा चल्ने प्रयासमा छ । शहरका सडकपेटी फराकिला, हराभरा र रङ्गीचङ्गी हुँदैछन् । फुटपाथ सफा र फराकिलो देखिन थालेका छन् । हिँड्न केही सहज भएको छ । सडकको जाम केही घटेको छ । डेढ वर्षको अन्तरालमा काठमाण्डौमा पाइला टेक्नेहरूलाई शहर अलि सभ्य र आधुनिक भएको हो कि भन्ने आभास हुन थालेको छ ।

तर फेरिएको काठमाण्डौ सबैलाई मन परेको छैन, बालेनको कार्यशैलीप्रति असन्तुष्ट हुनेहरू पनि प्रशस्तै छन् । फुटपाथ र सडकमा सामान बेच्न नपाउनेहरू बालेनसित रुष्ट थिए । उनीहरूको समर्थन र महानगरको विरोधमा अभियान नै चल्न थालेको छ । बुधवारमात्रै गरीखाने वर्गको नाममा महानगरपालिका अगाडि ‘गरिबको चमेली बोलीदिने कोही छैन’ भन्ने गीति भाकामा प्रदर्शन भयो । जुन गीत मेयरको उम्मेदवारी दिएर प्रचारमा हिँड्दा बालेनले गाउने गर्थे । महानगरले फुटपाथ खाली गर्ने नाममा जीविकोपार्जन गर्ने मान्छेहरूलाई काठमाण्डाैमा टिक्नै नदिएकोमा आक्रोश पनि बढ्दो छ । काठमाण्डाैकाे रूप फेर्न बालेनले थालेको अभियानको प्रशंसाका बीच महानगरपालिकाभित्र भएका गरीखाने वर्गलाई अवमूल्यन गरेर शहरको सौन्दर्य राम्रो हुन सक्दैन भन्ने आलोचना पनि उत्तिकै छ । महानगरले गरीखाने गरिबलाई फुटपाथबाट लखेटेर सडकमा अनावश्यक चमकधमक, साजसज्जा र तडकभडकमा समय र पैसाको बर्बाद गर्‍याे भन्नेहरू पनि बाक्लै छन् ।

सबैले मानेको कुरा हो, फुटपाथ व्यापार गर्ने ठाउँ होइन, हिँड्ने बाटो हो । कुनै व्यापारी सामान बोकेर हिँड्छ भने फुटपाथ उसको पनि हो तर कोही फुटपाथमा बाटो छेकेर बस्न र सुत्न खोज्छ भने फुटपाथ उसले गर्ने कामका लागि पनि होइन ।

बालेन मेयर हुनुभन्दा पहिले फुटपाथमा जथाभाबी व्यापार हुन्थ्यो र फुटपाथमा हिँड्न नपाएर धेरैले गाडीसँगै सडकमा हिँड्नु पर्थ्याे । फुटापाथमा व्यापार गर्नेहरूका कारण गाडी, यात्रु र पैदलयात्रुले हैरानी खेप्नुपरेको गुनासो गर्दै फुटपाथको व्यापार नियन्त्रण गर्नुपर्छ भन्ने माग व्यापक थियो । तर तत्कालीन मेयरहरूले बेवास्ता गर्दा र कडा कदम नचाल्दा फुटपाथमा पैदलयात्रीबाहेक अरू सबैको मनमौजी चल्यो । मेयर हुनेबित्तिकै बालेनले फुटपाथमा मनमौजी व्यापार गर्ने गाडी, टिकट काउन्टर र व्यापारी सबैलाई नियममा ल्याउन खोजेका छन् ।

गाडीका टिकट काउन्टर बन्द गर्दा पनि विरोध त भएकै थियो तर उनीहरू धनी अनि फुटपाथ र सडकमा व्यापार गर्नेहरू गरिब भन्ने परम्परागत भाष्यका कारण चमेलीको चर्चा चाहिनेभन्दा धेरै भइरहेको छ । सडक र शहरको सौन्दर्यभन्दा शहरी गरिबको रोजीरोटी ठूलो र पसलभन्दा फुटपाथको सामान सस्तो र सजिलो भन्ने भाष्य निकै बलियो छ । र अनेक परम्परागत भाष्यका बीच महानगर धनी, गरिब, यहाँ बस्ने र कमाउने सबैको साझा हो भन्ने नयाँ भाष्य पनि निर्माण भइरहेको छ ।

त्यसो हो भने सडक र फुटपाथलाई व्यवस्थित बनाउने अभियानलाई असर नपर्ने गरी गरीखाने वर्गको समेत चित्त बुझाउने उपाय के होला त ? महानगरलाई व्यवस्थित बनाउने जिम्मेवारी लिएका मेयरलाई पक्कै थाहा हुनुपर्छ, विश्वका सबै आधुनिक शहरहरूमा पनि सडकमा व्यापार हुन्छ । फूलबिरुवाले झकिझकाउ बनाइएको सडकमा यात्रुलाई बस्नका लागि निश्चित ठाउँ हुन्छ । मान्छे बस्ने ठाउँ भएपछि त्यहाँ चिया कफी र खाजा नास्ता बेच्ने पसल पनि हुन्छन् । तर यस्ता पसल आकर्षक र व्यवस्थित हुन्छन् । काठमाण्डौमा पनि यस्तै निश्चित ठाउँ तोकेर गरीखाने वर्गलाई सन्तुष्ट बनाउन सकिन्छ । यसरी निश्चित ठाउँमा व्यापार गर्नेबाट महानगरले निश्चित कर उठाउन सक्छ ।

सडक छेउको शटरमा भाडा र व्यवसाय कर तिरेर व्यापार हुन्छ तर त्यही शटर अगाडि फुटपाथमा व्यापार गर्नेले त व्यवसाय दर्ता गरेको पनि देखिँदैन । तर फुटपाथमा व्यापार गर्ने कतिले शटर र पसलमा हुनेभन्दा धेरै रकमको कारोबार र कमाइ गर्छन् । घरधनीलाई भाडा र राज्यलाई कर तिरेर शटरमा व्यापार गर्नेहरू पनि सडकपेटीमा व्यापार गर्नेहरूजस्तै गरीखाने वर्गकै हुन् । एउटा गरीखाने वर्गले कर तिर्नु पर्ने तर अर्को गरीखाने वर्गले कर तिर्नु नपर्ने भन्ने कुरा न्यायोचित होइन ।

त्यसो त बालेनलाई मेयर बनाउन साना व्यापारी र व्यवसायीको मत, आशीर्वाद र योगदान निकै ठूलो छ । तर उनी यी वर्गको कुरा सुन्न चाहँदैनन् र बसेर छलफल गर्न पनि खोज्दैनन् भन्ने आरोप छ । उनका नगर प्रहरीहरू ठेलागाडा, साइकल र फुटपाथमा व्यापार गर्नेहरूविरुद्ध निर्मम ढङ्गले प्रस्तुत हुँदै आएका छन् । उनीहरूलाई नियन्त्रणमा लिने नाममा नगर प्रहरीहरूले लछारपछार गर्ने र सामानमा क्षति पुर्‍याइदिने गरेको गुनासो व्यापारीहरूको छ ।

साना व्यापारी र व्यवसायीहरूले गरीखाने वातावरण बनाइदिन माग गर्दै आएका छन् । उनीहरूको मागअनुसार निश्चित ठाउँ तोकेर निश्चित समयमा व्यापार गर्न दिँदा शहर कुरुप हुँदैन । मात्रै त्यस्तो व्यापारले बटुवा र गाडीको आवातजावतमा असर पुग्न भएन । ठेलागाडा या सामान राख्ने ठाउँ शहरको सुन्दरतासँग मेल खाने आकर्षक र व्यवस्थित हुनुपर्‍याे । सामान स्वस्थ र गुणस्तर हुनुपर्‍याे । अनि सामान बेच्न राखेबापत व्यापारीले महानगरलाई कर तिर्नुपर्‍याे ।

सडकको व्यापार पनि शहरको सुन्दरता र आवश्यकता हो । डोको, थुन्से र खर्पनमा डुलाएर तरकारी व्यापार गर्नेलाई अहिले पनि अवरोध छैन । फुटपाथमा हिँड्ने बटुवा र सडकमा गुड्ने गाडीलाई असर पर्ने गरी व्यापार गर्न त रोक्नु नै पर्छ । बरु निश्चित सडक र समयमा व्यापार गर्न दिनुपर्छ । यसरी सडकको व्यापार व्यवस्थित गर्दा रोजीरोटी खोसिएको भन्दै पुर्परोमा हात लगाएर बसेका सडक व्यापारीले मेयरको जयजयकार गर्नेछन् । विश्वका अरू शहरमाजस्तै काठमाण्डौमा पनि निश्चित ठाउँ र समय तोकेर सडकमा व्यवसाय गर्न दिँदा गरीखाने वर्गलाई मात्रै फाइदा हुने होइन, लेन पक्डिएर लम्किएका बालेनको पनि हितमा हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *