दहीलाई हिन्दू धर्म अनुसार, सगुन अर्थात शुभ संकेतका रुपमा लिइन्छ । कुनै काम शुरु गर्नुभन्दा पहिले सगुनका रुपमा दही खाने प्रचलन छ । तर, दहीले तपाईंलाई शुभसाइतको मात्र काम गर्दैन, स्वास्थ्यका लागि पनि फाइदाजनक छ । दहीमा हुने रासायनिक पदार्थले पाचन प्रक्रियालाई सहज बनाउँछ । दहीमा पाइने प्रोटिन, क्याल्सियम, राइबोफ्लेबिन, भिटामिन बी जस्ता पोषक तत्वका कारण पनि यो स्वास्थ्यका लागि फाइदाजनक हुने गर्छ ।
दही खानुका फाइदा
सादा, कम चिल्लो र चिनी नराखेको दही स्वास्थ्यको लागि राम्रो हुन्छ । यस्तो दही खाँदा हुने फाइदा यसप्रकार छन्–
१. दहीमा प्रोटिन उच्च मात्रामा पाइन्छ । यसलाई खाँदा ऊर्जा दिने, भोक लाग्ने क्रम कम हुने र अन्त्यमा तौल समेत कम बनाउँछ ।
२. डिप्रेसन र चिन्ता घटाउँछ किनकि प्रोबायोटिक्स्मा हुने कीटाणुले चिन्ता र डिप्रेसन घटाउँछन् ।
३. रगतमा हुने खराब कोलेस्ट्रोल घटाउँछ ।
४. विभिन्न मुटुको रोगका साथै रक्तचाप घटाउँछ ।
५. सङ्क्रमण कम गराई रोग विरुद्ध लड्ने क्षमता बढाउँछ ।
६. डण्डीफोर, एक्जिमा लगायत अन्य छालाका समस्यामा उपयोगी हुन्छ ।
७. कोषहरूको विभाजन, कार्य र क्षमतामा वृद्धि ल्याई बुढो हुनबाट बचाउँछ । साथै यसमा पाइने विभिन्न भिटामिन तथा खनिज तत्वहरूले हाड कमजोर हुने वा मक्किने रोग (ओस्टोपोरोसिस्) लाई पनि निको बनाउँछन् ।
८. पाचन राम्रो बनाउने र स्नायु सम्बन्धी विकृति कम गर्ने जस्ता काम पनि गर्छ ।
९.दही हाम्रो शरीरलाई चाहिने लगभग धेरै किसिमका पौष्टिक तत्वहरू (क्याल्सियम, भिटामिन बी कम्प्लेक्स् र खनिज) ले भरिपूर्ण हुने भएकोले यो खानाले रोग विरुद्धको प्रतिरोध क्षमता बढाई सम्पूर्ण स्वास्थ्यलाई सामान्य रूपमा राख्न सहयोग गर्छ ।
१०. दही खानाले यसमा पाइने प्रोबायोटिक्स्ले पाचन प्रणालीलाई राम्रो बनाउँछ जसले गर्दा ग्यास्ट्राइटिस्, वायु गोला, पखाला वा कब्जियत हुन पाउँदैन र भएमा निको हुन्छ ।
कस्तो अवस्थामा दही खाँदा हुन्छ बेफाइदा ?
-राति दही खाँदा पाचन क्रियामा गडबडी पैदा हुन्छ । यसलाई पचाउनका लागि इनर्जी बर्न गर्नुपर्ने आवश्यकता हुन्छ । धेरै मानिसहरु राति खाएपछि सुतिहाल्छन् । यसले झन् समस्या हुन्छ।
– राति दही सेवन गर्दा शरीरमा इन्फेक्सनको डर हुन्छ । यसले रुघा र खोकी लाग्न सक्छ ।