पाठेघरको दुवैतिर रहेको डिम्बासय प्रत्येक महिना डिम्बवाहिनी नलीद्वारा पाठेघरसँग जोडिन्छ । हरेक महिना डिम्बासयबाट डिम्ब निस्केर डिम्बवाहिनी नलीमा आउँछ । योनीमा बसेको शुक्रकिट पाठेघर हुँदै डिम्बनलीमा आँउछ र फटिलाइजेसन हुन्छ । सामान्य गर्भमा भु्रणको विकास गर्भासयमा हुन्छ । यदि गर्भासयमा बस्नुपर्ने भ्रुण गर्भासयभन्दा बाहिर बस्यो भने त्यसलाई एक्टोपिक गर्भावस्था भनिन्छ ।
एक्टोपिक गर्भावस्था महिलाका लागि निकै खतरनाक पनि हुनसक्छ । गर्भासयभन्दा अन्य ठाउँमा भु्रणकोे विकास भयो भने बढ्दै गएर फुट्ने र रक्तश्राव भई महिलाको मृत्यु समेत हुनसक्छ। यदि भु्रण गर्भासयभन्दा बाहिर विकास भएको छ भन्ने तुरुन्त उपचार गर्नुपर्छ । नेपालमा एकिन तथ्यांक नभए पनि पाटन अस्पतालमा एक्टोपिक गर्भ रहेर हप्तामा एक÷दुई जना महिला आउने गरेका छन् ।]
एक्टोपिक गर्भ रहनुको मुख्य कारण
एक्टोपिक गर्भ विभिन्न कारणले गर्दा रहन्छ । यदि फटिलाइज भएको भु्रण आउने बाटोमा कुनै अवरोध सिर्जना भयो भने एक्टोपिक हुनेगर्छ । ट्युबमा संक्रमण भएको छ भने पनि यो समस्या आउँछ । कुनै कारणले गर्दा ट्युबमा शल्यक्रिया गरेको छ भने पनि भु्रण आउने बाटो नपाएर गर्भासयमा गर्भ नरही अन्य ठाउँमा रहन्छ । विभिन्न किसिमका हार्मोनको प्रयोग गर्ने महिलामा एक्टोपिक गर्भ रहनसक्छ ।
महिलाले भविष्यमा यस्तो समस्या उत्पन्न हुन्छ भन्ने कुरामा ख्याल नै गरेका हुँदैनन् । भइसकेपछि मात्र पछुताउँछन् । पटक—पटक गर्भपतन गराउने र जहाँ पायो त्यहीँ गर्भपतन गराउँदा पनि ट्युबमा संक्रमण भई एक्टोपिक गर्भ रहने सम्भावना बढ्छ। कृत्रिम गर्भाधारण गर्नेलाई पनि एक्टोपिक हुने सम्भावना बढी हुन्छ ।
एक्टोपिक गर्भावस्थाले ज्यान लिनसक्छ
प्राकृतिक रुपमा गर्भासयमा बसेको बच्चा ५ केजीसम्मको हुनसक्छ । किनकि गर्भासयको तन्किने क्षमता हुन्छ । यदि पाठेघरभन्दा अन्य ठाउँमा बच्चा बस्यो भने हुर्किंदै जाँदा त्यो ठाउँको तन्किने क्षमता कम भएर भु्रण पेटमै फुट्छ र भित्रै रगत बग्छ । यो अवस्था निकै जोखिमपूर्ण हुन्छ । यस्तो अवस्थामा महिलाको ज्यान पनि जानसक्छ ।
एक्टोपिक गर्भ रहेको कसरी थाहा पाउने?
बच्चा बस्नेबित्तिकै अस्पतालमा जाँच गराउनुपर्छ । यदि एक्टोपिक भएको शंका लागेमा अल्ट्रासाउन्ड गराउनुपर्छ । यसो गर्दा भु्रण कहाँ बसेको छ भन्ने थाहा पाउन सकिन्छ ।
महिनावारी हुने समय नाघेपछि एक्कासि पेट दुख्यो, चक्कर लाग्यो, अलिअलि रगत बग्यो भने एक्टोपिक हुने सम्भावना धेरै हुने हुँदा तुरुन्तै अस्पताल गई जाँच गराउनुपर्छ । किनभने एक्टोपिक गर्भ भनेको आकस्मिक अवस्था हो ।
कस्ता महिलामा एक्टोपिक गर्भ रहन्छ?
कृत्रिम गर्भाधारण गर्ने महिलामा एक्टोपिक गर्भ रहने जोखिम बढी हुन्छ । त्यसबाहेक परिवार नियोजनको साधन कपर–टी लगाउने महिलामा पनि एक्टोपिक गर्भ रहनसक्छ । कपर–टीले पाठेघरमा गर्भ रहन मात्र रोक्छ, पाठेघर बाहेकका अन्य ठाउँमा गर्भ रहनबाट जोगाउन सक्दैन । यौन मार्गको संक्रमण, यौन रोग, फेलोपिन ट्युबको शल्यक्रिया गराएका महिलामा एक्टोपिक गर्भ रहने सम्भावना धेरै हुन्छ ।
जाँच :
महिनाबारी रोकिइसकेपछि एक्कासि पेट दुख्यो भने अल्ट्रासाउन्ड गरेर बच्चा कहाँ बसेको छ, पत्ता लगाउन सकिन्छ । कुनैकुनै महिलाले जाँच नै नगराई औषधि खाएर गर्भपतन गराउँछन् । जाँच नगराई आफैँ औषधि खाँदा बच्चा कहाँ बसेको छ भन्ने थाहा हँुदैन । यसरी औषधि खाँदा गर्भासयभन्दा बाहिर बसेको भ्रुण फुटेर रक्तश्राव भएको अवस्थामा आकस्मिक रुपमा अस्पताल आउँछन् । यही कारणले गर्दा कतिपयको ज्यान पनि गएको छ ।
उपचार :
एक्कासि तल्लो पेट दुख्यो र भित्री रुपमा रक्तश्राव भयो भने अवस्था हेरी तुरुन्तै शल्यक्रिया पनि गर्नुपर्ने हुन्छ । गर्भमा रहेको शिशुको मुटुको चाल देखिएको छैन तर साइज सानो छ, फुटेर रक्तश्राव भएको छैन भने अस्पतालमा भर्ना गरी औषधि दिएर उपचार गरिन्छ ।
बच्ने उपाय :
समाज पहिलेजस्तोे छैन । अहिले मानिसको सामाजिक व्यवहार परिवर्तन भएको छ । खुला समाज बढ्दै गएकाले यौन सम्बन्धहरु पनि बढ्दै गएको जस्तो देखिन्छ । धेरै मानिससँग असुरक्षित यौन सम्बन्ध राख्दा यौनांगमा संक्रमण हँुदा एक्टोपिक गर्भ रहनसक्छ । सरकारले गर्भपतनलाई मान्यता दिए पनि लुकीलुकी गर्भपतन गर्ने चलन पनि बढिरहेको छ ।
यसरी गर्भपतन गराउँदा पाठेघरमा संक्रमण हुने सम्भावना हुन्छ । सही तरिकाले परिवार नियोजनका साधन प्रयोग गरियो भने अवैध गर्भ रहँदैन । एक जना व्यक्तिसँग मात्र यौन सम्बन्ध राख्ने, जहाँ पायो त्यहीँ अनि पटकपटक गर्भपतन गराउनुहुँदैन । गर्भ रहनेवित्तिकै बच्चा कहाँ बसेको छ भनेर जाँच गराउनुपर्छ ।