हाम्रो गाउँ घरमा पाइने असुरो हुन्छ यतिधेरै रोगको औषधि, यसरी प्रयोग गर्नुहोस् ।

नेपालमा १२०० मिटर सम्मको उचाइमा पाइने असुरो वनमा पाइने जडिबुटी हो । आयुर्वेदमा यसको महत्वको विषयमा विशेष चर्चा हुन्छ । यो औषधीय गुण भएको बुट्यान वर्गमा पर्ने वनस्पति हो। विभिन्न औषधीय गुण हुने असुरको प्रयोग गर्दा रोगीको क्षमता र मात्राको संयोजन नमिलेमा हानिकारक पनि हुन सक्छ ।असुरोको बोट बन-जंगल, धाराको छेउछाउ साथै खुल्ला ठाउँहरुमा पाइन्छ।

असुरोको बुटा प्रायः १ मिटर भन्दा अग्लो हुन्छ र बढीमा २.५ मिटर सम्म अग्लो हुन्छ। यसको पातको लम्बाई २० सेन्टिमिटर र चौडाई ७.५ से.मी सम्म हुन्छ । पातको किनारा धारिलो हुन्छ । फूलहरू एउटै डाँठमा गुच्चमुच्च हुन्छन्। फूलको रंग सेतोमा प्याजी नसाका धर्का देखिन्छ।वन औषधिको नामले पनि असुरोलाई चिनिन्छ। एकपटक उम्रिसकेपछि प्राय नाश नहुने असुरो खेतवारी एवं कान्लाहरुमा पनि प्रशस्तै पाइन्छ । श्वासमार्गमा जमेर रहेको कफलाई यसले सजिलै बाहिर निकाल्न मद्दत पु-याउँछ ।

गाउँघरमा असुराको पातलाई सुकाएर चिलिममा राखेर तमाखु जसरी खाने गरिएको पाइन्छ ।यसको हरियो पातको रस निचोरेर मह वा अदुवाको रससँग खाँदा पुरानो खोकी र दम पनि निको हुन्छ। असुरोलाई आउँ तथा मासी परेको बेलामा मिश्रीसँग मिलाएर खाँदा फाइदा गर्छ । त्यस्तै धेरै दिनदेखि आएको ज्वरोमा चिराइतो कुट्की र पिपलासँग मिलाएर यसको प्रयोग गर्न सकिन्छ।पात वा फूलको रस १० मिली र सुपको रूपमा ४० देखि ८० मिलि प्रयोग गर्न सकिन्छ। यसको पात र जरा विशेष गरेर खोकी थाम्ने औषधीहरूमा प्रयोग गरिन्छ। आयुर्वेदअनुसार यसको प्रयोग घाँटी दुख्ने, हृदयरोग, दम, ज्वरो, कमलपित्त इत्यादिमा प्रयोग गरिन्छ। तर असुरोको प्रयोग गर्दा रोगीको क्षमता र मात्राको संयोजन भने मिलाउन आवश्यक रहन्छ ।

कस्तो अवस्थामा असुरोको प्रयोग गर्ने ? रुघा, खोकी, दम, बाथ, ज्वरो, पिसाव पोलेमा, पित्तथैलीमा गडबडी देखिएमा, हृदयरोग, जण्डिस, नाक र मुखबाट रगत बगेमा, विकार रक्तको शुद्धीकरण, पेटमा जुका परेमा, छातीको रोग, क्षयरोग, ब्रोङकाइटिस, जोर्नी दुखेमा वा सुन्निएमा, घाँटी दुखेमा, आँखा पोलेमा, जीउ र काँखी गन्हाएको अवस्थामा समेत यसको प्रयोग गर्न सकिन्छ । यसको पातबाट काढा पकाएर सेवन गरिन्छ । चर्मरोगमा पातको लेदो दलिन्छ । शरीरमा रक्त प्रवाह बढाउन यसको फूलको सेवन गरिन्छ । साथै असुरोबाट जैविक बिषादी र हरियो मल बनाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *