गोसाईंकुण्ड दर्शन गरी फर्किने क्रममा काठमाडौंका एक युवक बेपत्ता

काठमाडौं । जनैपूर्णिमामा रसुवाको गोसाईंकुण्ड दर्शन गरी फर्किने क्रममा काठमाडौंका एक युवक सम्पर्कविहीन भएका छन् । काठमाडौं महानगरपालिका वडा नम्बर ३ बस्ने १७ वर्षीय प्रदेश तामाङ सम्पर्कविहीन भएको नेपाल प्रहरीको बागमती प्रदेश कार्यालयले जनाएको छ । बाटो बिर्सिएर हराएको खबर पाउनासाथ नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ ।

आज बिहान ५ बजेदेखि नै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १९ जना, प्रहरी चौकी स्याफ्रुबाट ७ जना, नेपाली सेनाको विष्णु दल गण धुन्चेबाट लप्टनको नेतृत्वमा १५ जना खोजीका लागि परिचालन गरिएको नेपाल प्रहरीको बागमती प्रदेश कार्यालयले आज जारी गरेको सूचनामा उल्लेख छ ।

यसैबीच काभ्रेको चौरीदेउराली गाउँपालिका ३ माझी फेदी बस्ने ४८ वर्षीय रामबहादुर तामाङ गोसाईंकुण्ड दर्शन गरी फर्किने क्रममा बिरामी भएका छन् । एक्कासी पेट दुखेपछि उनलाई उपचारका लागि काठमाडौं पठाइएको थियो । उनको अवस्थामा मध्यम रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *