दशैं बिदामा हिमाली क्षेत्रको यात्रा गर्दै हुनुहुन्छ? यी सामग्री बोक्न नछुटाउनुहोस्

यात्रा सबैको रोजाइमा पर्ने विषय हो। बिदाको समयमा धेरैजसो मानिस यात्रामा रमाउन चाहन्छन्। झन् दशैंको बिदामा त साथीभाइ मिलेर टाढाका स्थान अवलोकनका लागि यात्रामा निस्किने गरिन्छ। कसैलाई हिमाली क्षेत्रको यात्रा मन पर्ला त कसैलाई समुद्री तटको। यात्राका लागि आफ्नो रुचि अनुसारको गन्तव्य तय गरिन्छ।

तर, यात्रा गर्न रुचाउने व्यक्तिलाई पनि यात्राका समयमा के-कस्ता सामग्री बोक्नुपर्छ भन्ने थाहा नहुन सक्छ। यात्रा गर्दा सबैभन्दा पहिला त कहाँको यात्रा गर्ने हो त्यो तय गर्नुपर्छ। अनि गन्तव्य अनुसारका आफूलाई आवश्यक पर्ने सामग्री बोक्नु पर्छ। गर्मी होस् वा जाडो जुन क्षेत्रको यात्रा भए पनि समय अनुकुलका सामग्री बोकेर जानुपर्छ।

कार्तिक २ गते बिहिबार,आज तपाईको भाग्य कस्तो छ ? हेर्नुहोस राशिफल
by Taboola
हिमाली क्षेत्रको यात्रा गर्दा समुद्र सतहदेखि कति मिटर माथिको यात्रा हो, आफू जान लागेको गन्तव्यमा के-के सुविधा छन्? होटल-लजको व्यवस्था छ कि छैन, त्यो थाहा पाउन जरुरी हुन्छ। त्यसपछि आफूलाई आवश्यक सामग्री बोकेर यात्रा सुरु गर्नुपर्छ।

हिमाली क्षेत्रको यात्राका लागि न्यानो कपडाहरु, डाउन ज्याकेट विनप्रुफ ट्र्याक, टाबेल, स्लिपिङ ब्याग टर्च लाइट, चश्मा लगायतका समाग्री अनिवार्य बोक्नु पर्छ। यस्तै मोबाइल फोन, क्यामेरा लगायतका सामग्री पनि बोक्नु उपयुक्त हुन्छ।

यात्रा जहाँको होस्, एक स्थानबाट अर्को स्थानमा जाँदा मौसम तथा हावापानीका कारण मानिस केही न केही समस्याले बिरामी पर्ने हुन सक्छ। त्यसका लागि सामान्य रोग रोकथामका औषधि बोकेर हिँड्न आवश्यक रहेको फिजिसियन डा रमेश ढकाल बताउँछन्।

‘समुद्र तटको यात्रामा जानेका लागि भने झाडाबान्ता, पखाला लगायतका समान्य फ्रस्टेडका समस्या मात्रै हुन सक्छ। जसको रोकथाम गर्ने औषधि बोक्नु राम्रो हुन्छ,’ उनले भने, ‘हिमाली भेगमा लेक लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, पखाला लाग्ने, ग्यास्ट्रिक हुने तथा सामान्य फ्रस्टेडका समस्या देखिन थाल्छन्।’

जसको उपचार गर्न बाटोमा अस्पतालहरु नभेटिने सम्भावना बढी हुन्छ। यस्ता सामान्य समस्या निको पार्ने औषधि बोक्नुपर्ने उनी बताउँछन्।
नेपालका पहाड तथा तराईमा बस्ने मानिसलाई ३ हजार ३ सय मिटरभन्दा माथि पुगेपछि लेक लाग्ने समस्या आउन थाल्छ। लेक लागेको लक्षणबाट थाहा पाउन सकिन्छ। टाउको दुख्ने, वाकवाकी लाग्ने, रिंगटा लाग्ने हुन सक्छ। श्वासप्रश्वासमा समस्या आउन सक्छ। जति माथि चढ्दै गयो उति समस्या हुने देखिन्छ। यस्तो भयो भने थुचुक्क बस्ने अथवा तल झर्ने गर्नुपर्छ।

आफूसँगै गएका साथीहरुलाई आफ्नो समस्या सुनाउनु पर्छ, समस्या लुकाउनु हुँदैन। हाई अल्टिच्युड सेडिलोमा भन्ने समस्या देखा पर्छ। त्यो भनेको दिमागमा पानी जम्नु हो। दिमागमा पानी जमेर सुन्निन पनि सक्छ। पल्मोनरी एडिमाको समस्या देखा पर्छ। त्यो फोक्सोमा पानी जम्ने समस्या हो। त्यस् तोबेला तत्काल उद्धार भएन भने ज्यानै जाने खतरा आउन सक्छ। त्यसको प्रिभेन्सनका लागि एसिटाजोलामाइड, डायमोक्स नामक औषधि बोक्नुपर्छ।

छाती दुख्ने, मुटुको बिरामी, मोटो व्यक्तिलाई हार्टअट्याक आउन सक्ने समेत हुन्छ। यस्तो बेलाका लागि रगत पातलो बनाउने औषधि इकोस्प्रिन आवश्यक पर्छ। यो पनि बोकिरहनु पर्छ। इकोस्प्रोन १५० एमजी एकै पटक पनि खान सकिन्छ। दैनिक एउटा एउटा पनि खान सकिन्छ। डायमोक्सको काम के हुन्छ भने फोक्सोमा पानी जम्न दिँदैन। त्यो बिहान दिउँसो बेलुका तिन पटक खान सकिन्छ।

यात्राको क्रममा बान्ता हुने हुन्छ। बान्ता रोक्ने औषधी (मेटोकोलोप्राइमिड)सेवन गर्नुपर्छ। यस्तो औषधि एक/दुई पत्ता बोक्न जरुरी हुने डा ढकाल बताउँछन्।

यात्राका क्रममा खानपानको समय नमिल्न सक्छ। खानपान नमिल्दा पेटमा ग्याष्ट्रिक हुन सक्छ। पहिलादेखिकै ग्याष्ट्रिकको समस्या भएका व्यक्तिलाई त झनै गाह्रो हुन सक्छ। त्यसैले यात्रा गर्दा यस्ता औषधि बोक्न अनिवार्य हुने उनकी बताउँछन्।

यात्राका बेलामा कहिलेकाहीँ खानपान नमिल्दा पखाला पनि लाग्न सक्छ। पखाला रोक्नका लागि जीवनजलले अति महत्वपूर्ण काम गर्छ। पखाला लागेको बेलामा शरीर एकदमै कमजोर भइरहेको हुन्छ। जीवनजलले शरीरलाई शक्ति पनि दिन्छ।

धुलो-धुवाँ, रुघाखोकी, भाइरल लगायत विभिन् नखाले संक्रमणजन्य रोगबाट बच्न मास्क प्रयोग अनिवार्य छ। मौसमी रुघाखोकीको संक्रमणबाट बच्नका लागि पनि मास्कको प्रयोग अनिवार्य गर्नुपर्छ।

लामो यात्रामा जहिले पनि प्राथमिक उपचारका लागि सामाग्री बोक्न आवश्यक रहेको डा ढकालको भनाइ छ। यात्राको बेलामा कहिलेकाहीँ चोटपटक लाग्न सक्छ। जसको उपचारका लागि बिटाडिन, घाउ बाँध्ने टेप, ब्यान्डिज, काटेको घाउमा लगाउने औषधि, ह्याण्डी प्लाष्ट,पट्टी, डेटोल लगायतका सामग्री बोकेर यात्रा गर्न सकिन्छ। यस्ता सामग्री बोक्दा सामान्य चोटपटकको उपचार आफैं गर्न सकिन्छ।

महिलाको लागि यात्रामा छुटाउनै नहुने स्यानिटरी प्याड हो। महिनावारीको समय नजिकिँदै छ भने त झनै छुटाउन हुँदैन। स्यानिटरी प्याड सबै ठाउँमा किन्न नपाइन सक्छ। कुनै पनि बिरामीले यात्रा गर्दा आफ्नो नियमित औषधि भने बोक्न छुटाउनु हुँदैन।