सहकारीको पैसा अपचलन गर्ने जोकोहीलाई कानुनी कारबाही हुनुपर्छ : डा.संग्रौला

    सहकारीको पैसा अपचलन गर्ने जोकोहीलाई कानुनी कारबाही हुनुपर्छ : डा.संग्रौला

    धनकुटा, ३ कात्तिक । नेपाली कांग्रेसकी नेतृ डा.डिला संग्रौलाले पार्टीको आन्तरिक समस्या समाधान गरेर मात्रै नतिजा आफ्नो पक्षमा ल्याउन सकिने औँल्याउनुभएको छ ।

    शनिबार धनकुटामा नेपाली कांग्रेसको एकसय दिने विशेष अभियान शुभारम्भ समारोहलाई सम्बोधन गर्दै डा.संग्रौलाले कांग्रेसका सबै तह र तप्काका कार्यकर्ता एवम् शुभेच्छुकहरु आफ्ना समस्या समाधानमा दृढतापूर्वक लाग्नुपर्ने बताउनुभयो ।

    ‘आफूमात्रै लोकप्रिय हुने लालसाले कांग्रेस समस्यामा परिरहेको छ । टिकट पाएर चुनाव हारे अर्काको कारणले र जिते आफू एक्लैले जितेको घमण्ड गर्ने प्रवृति छ । यस्ता समस्याहरुको बेलैमा समाधान निकाल्नुपर्छ,’ उहाँले भन्नुभयो,‘तर अर्को इमान्दार तप्का पनि कांग्रेसभित्रै छ, उसलाई पद र प्रतिष्ठाबाहेक बलियो संगठन मात्रै चाहिएको छ । एकलौटी सरकार चाहिएको छ, अब त्यो कांग्रेसलाई हुर्कने र सप्रने मौका दिनुपर्छ ।’

    फरक प्रसंगमा केन्द्रीय सदस्य तथा पेशागत एवम् वुद्धिजीवी विभाग प्रमुखसमेत रहनुभएका डा.संग्रौलाले पूर्वगृहमन्त्री रवि लामिछाने मात्र नभइ सहकारीको पैसा अपचलन गरेको प्रमाणित भए आफ्नै पार्टीका नेता तथा कार्यकर्तालाई पक्राउ गरेर कारबाही गर्नुपर्ने बताउनुभयो ।

    ‘घटनाबारे सत्यतथ्य छानबिन गरेर, आफ्नै पार्टीका, नाताका वा भाइ भतिजा भए पनि कारबाहीको भागिदार हुनुपर्छ । कानुनी कठघरामा ल्याइनुपर्छ,’ उहाँले भन्नुभयो । उहाँ संगठन सुदृढीकरणको सय दिने अभियानका लागि केन्द्रीय प्रतिनिधि बनेर धनकुटा पुग्नुभएको हो ।

    कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईले शुभारम्भ भएको अभियानले कांग्रेसमा नयाँ जागरण र आत्मविश्वास पैदा गर्ने बताउनुभयो । उहाँले सुदृढ र एकताबद्ध कांग्रेसले मात्रै नागरिकका समस्या समाधानमा प्रभावकारी काम गर्नसक्ने बताउनुभयो ।

    तीन महिना सञ्चालन हुने अभियान आउँदो पुष १६ गते बिपी जयन्तीका दिन समापन हुने छ । अभियानका लागि लागि धनकुटा कांग्रेसले सात स्थानीय तहका ६० वटै वडाका लागि प्रतिनिधि तोकेको छ ।

    सय दिनको अभियानका क्रममा कार्यालय नभएका तहमा कार्यालय स्थापना गर्ने, मासिक रुपमा सबै तहका बैठक र यथाशीघ्र सम्मेलन गर्ने, वार्षिक कार्ययोजना बनाउने, सामाजिक र राजनीतिक गतिविधि बढाएर लैजाने, सदस्यता घर आँगन कार्यक्रमलाई प्रभावकारी बनाउनेलगायतका कार्यक्रम छन् ।

    यस्तै भ्रातृ र शुभेच्छुक संगठनमा रिक्त पदपुर्ति गर्ने, पार्टीमा योगदान दिने ज्येष्ठ सदस्यको सम्मान गर्ने, द्वन्द्व पीडित, घाइते र सहिद परिवारको सम्मानका कार्यक्रम छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *