रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै

    रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै

    काठमाडौँ, ४ कात्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज अदालतमा हाजिर गराइँदै छ ।

    शुक्रबार काठमाडौँस्थित रास्वपा पार्टी कार्यालयबाट पक्राउ गरी कास्की प्रहरी कार्यालय पुर्‍याइएका लामिछानेमाथि अनुसन्धानका लागि म्याद थप गर्न आइतबार प्रहरीले कास्की जिल्ला अदालतमा उपस्थित गराउन लागेको हो ।

    लामिछानेविरूद्ध कास्की जिल्ला अदालतले सहकारी ठगी र संगठित अपराधको कसुरमा अनसुन्धानका लागि पक्राउ पुर्जी जारी गरेको थियो ।

    शनिबार अदालत बन्द रहेकाले प्रहरीले लामिछानेलाई आइतबार मात्रै अदालतमा उपस्थित गराउन लागेको हो ।

    जिल्ला प्रहरी कार्यालयमा लामिछाने र सहकारी ठगी मुद्दामै पक्राउ परेका पूर्वडिआइजी छविलाल जोशीलाई छुट्टाछुट्टै कक्षमा राखिएको छ ।

    तर, प्रहरीले उनलाई बढी सुविधा दिएको छ । हिरासत कक्षका अन्य कोठामा थुनुवाको भीड भए पनि लामिछाने र जोशी एक्लै बस्न पाएका छन् । साधारण थुनुवालाई भन्दा उनीहरूलाई खुकुलो र सजिलो छ ।

    आइतबार म्याद थप गरेपछि प्रहरीले लामिछानेसँग बयान लिने र अनुसन्धान अघि बढाउनेछ ।

    अनुसन्धान पूरा भएपछि जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् अदालतमा मुद्दा दर्ता हुन्छ । अनि लामिछानेलाई कारागार राखेर अदालती प्रक्रिया अघि बढाउने कि पुर्पक्षका लागि कारागार पठाउने भनेर थुनछेक बहस हुन्छ । थुनछेक आदेशमा लामिछानेलाई कारागार पठाउने कि बाहिर बसेर मुद्दा लड्न दिने निर्णय आउनेछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *