प्रचण्डलाई ओलीको जवाफः ‘हतियार नचलाए पनि बिसाउने तरिका सिकाउँछौँ’

काठमाडौँ, ११ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धम्क्याएका भरमा चल्ने गरेको आरोप लगाउनुभएको छ ।

आइतबार एनआरएनए स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले आफूहरुले हतियार नचलाए पनि कसरी बिसाउनुपर्छ भन्ने जानेको भन्दै प्रचण्डलाई जवाफ दिनुभएको हो ।

शनिबार प्रचण्डले पार्टीको विरोधसभामा हतियार मात्रै बिसाएका हौँ, चलाउन बिर्सेका छैनौँ भन्दै अभिव्यक्ति दिनुभएको थियो ।

उहाँले भन्नुभयो, ‘हिजो एकजना उफ्रि उफ्रि भाषण गर्दै थिए । हिजो मात्रै देख्या थे । हतियार बिसाएको मात्रै हो भ्रम नरहोस् । चलाउन बिर्स्या छैन, त्यस्तै त्यस्तै त हामी हुनु भएन नी, धम्क्याएका भरमा खाने । म त्यसलाई हतियार कसरी बिसाउन लगाउनुपर्छ भन्ने तरिका पनि हामीलाई थाहा छ । हामी चलाउन त चलाउँदैनौँ तर बिसाउन लगाउन जानेको छौँ । ’

उहाँले विकासका लागि पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुने बताउनुभयो । प्रधानमन्त्री ओलीले प्रविधि र उपकरण बढ्दो भएकाले विकास गर्न नसकिने भन्ने नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘नेपालमा विकासका लागि बाटाघाटा र आवश्यक पूर्वाधार बनेका छन् । अहिले दुर्गम भन्ने कुनै जिल्ला र भूभाग छैन । मिलेर काम गरेमा मुलुकलाई समृद्ध बनाउन सकिन्छ ।’

प्रधानमन्त्री ओलीले गैरआवासीय नेपाली संघको छविलाई कायम गरी संगठनलाई एकताबद्ध राख्न र ‘राजनीतिक टग अफ वार’ नगर्न आग्रह गर्नुभयो ।

उहाँले सरकारको तर्फबाट संघलाई कुनै हस्तक्षेप नहुने भएकाले स्वतन्त्ररुपमा काम गर्न आग्रह गर्दै भन्नुभयो,‘म अहिले प्रधानमन्त्री छु, म देशको प्रधानमन्त्री हो । एमालेको मात्रै प्रधानमन्त्री होइन । राष्ट्रपति पनि त्यही हो, राष्ट्रपति दल विशेषको हुँदैन, राष्ट्रको प्रमुख हुन्छ । सभामुख, प्रधानन्यायाधीश सबै पद साझा पद हुन् । हामीले त्यस हैसियतले काम गर्ने हो ।’

आफू सन् १९९९ तिर मा मस्को जाँदा डा.उपेन्द्र महतोेसँग गैरआवासीय नेपाली अभियानबारे कुरा भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले एनआरएनलाई पहिचान र आवश्यक सुविधान दिन सरकारले कञ्जुस्याइँ नगर्ने पनि स्पष्ट गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *