साफ महिला च्याम्पियनसिपको उपाधिका आज नेपाल र बंगलादेश भिड्दै

साफ महिला च्याम्पियनसिपको उपाधिका आज नेपाल र बंगलादेश भिड्दै

काठमाडौँ, १४ कात्तिक । साफ महिला च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै छ ।

नेपाल सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा चार–दुई गोलले पराजित गर्दै छैटौँ पटक साफको फाइनल प्रवेश गरेको हो । यसअघि पाँच पटक उपविजेतामा रोकिएको नेपालले यो पटक भने घरेलु समर्थक र मैदानको फाइदा उठाउँदै च्याम्पियन बन्ने लक्ष्य लिएको छ ।

बुधबार भएको प्रि–म्याच प्रेस कन्फरेन्समा प्रशिक्षक राजेन्द्र तामाङले कठिन विपक्षीको सामना लागि तयार रहेको बताउनुभयो ।

कप्तान एन्जिला सुब्बा तुम्बाप्पोले नेपाली शैलीको फुटबल खेलेरै पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने विश्वास व्यक्त गर्नुभयो । साबिक विजेता बंगलादेशले सेमिफाइनलमा भुटानमाथि सात–एक गोलले पराजित गरेको थियो ।

कप्तान सविना खातुनले घरेलु समर्थकले भरिएको रंगशालामा युवा खेलाडीका लागि नेपाल विरुद्धको खेल चुनौती हुने भए पनि तयार रहेको उल्लेख गर्नुभयो ।

इंग्लिस प्रशिक्षक पिटर बटरलले ट्याक्टिक्स भन्दा पनि भोलिको माहोललाई जसले नियन्त्रणमा राख्न सक्छ उसले जित हात पार्ने प्रतिक्रिया दिनुभयो ।

फाइनलमा जारी साफमा सात गोल गरेकी रेखा पौडेल हुने छैनन् । उनले भारतविरुद्धको खेलमा रातो कार्ड पाएपछि फाइनल गुमाएकी हुन् ।

अघिल्लो पटक दशरथ रंगशालामै बंगलादेश नेपाललाई तीन–एकले हराएर च्याम्पियन बनेको थियो । खेल साँझ साढे ६ बजे सुरु हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *