काठमाडौँ, १७ कात्तिक । सोलुखुम्बुको दुर्गम हिमाली भेग मेरा पिक क्षेत्रमा स्वास्थ्य क्लिनिक स्थापना गरिएको छ । हिमाल आरोही र ट्रेकिङमा जाने पर्यटकहरूलाई लक्षित गरेर महाकुलुङ गाउँपालिका-२ खारेमा क्लिनिक सञ्चालनमा ल्याइएको हो ।
मेरा पिक आरोहणमा निस्किएका पर्यटक र उनीहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ पहिलो पटक ५ हजार मिटरमाथिको उचाइमा उक्त क्लिनिक स्थापना गरिएको हो । गाइड, भरिया र स्थानीय बासिन्दा लक्षित ‘मेरा क्लिनिक’ नामबाट स्थापना गरिएको स्वास्थ्य क्लिनिक शुक्रबारदेखि सञ्चालन ल्याइएको हो ।
वरिष्ठ स्वास्थ्य सहायक रामबहादुर भैया र डा.मिलन सिंह पाण्डेको नेतृत्वमा सञ्चालित यस संस्थाले महाकुलुङ क्षेत्रका दुर्गम भूगोल र कठोर जीवनयापनलाई सहज बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको प्रतिक्रिया दिएका छन् ।
विश्व प्रसिद्ध हिमाली सौन्दर्य र चुनौतीपूर्ण भूगोलको प्रतीक मेरा पिक क्षेत्र साहसिक पर्यटनको हब बन्दै गर्दा स्वास्थ्य क्लिनिकको स्थापनाले थप सहज भएको स्थानीयको प्रतिक्रिया रहेको छ । स्वास्थ्य सेवा नहुँदा गम्भीर बिरामीको जोखिमका कारण मेरा पिकका लागि आउने भरिया, गाइड, र पर्यटकले असुरक्षित महसुस भएको बताउँदै आए पनि क्लिनिकको स्थापनापछि सहज हुने ‘टुरिस्ट गाइड’ नुरु शेर्पा बताउनुहुन्छ ।
क्लिनिकको स्थापनाअघि यस क्षेत्रबाट नजिकको स्वास्थ्य सेवा लिनका लागि मात्र चार दिनको लामो पैदल यात्रा तय गर्नु पर्ने थियो । अब भने उक्त ४ दिने सकसपूर्ण बाटो तय गर्नु पर्ने छैन ।
साधारण चिकित्सा परामर्श, आकस्मिक औषधि सेवा, प्रसूति, स्त्रीरोग तथा फोरेन्सिक चिकित्सा जस्ता सेवाहरू प्रदान गर्ने यस क्लिनिकले आवश्यक पर्ने सेवा निःशुल्क उपलब्ध गराउने छ । भरियाहरूका लागि विशेष सुविधा उपलब्ध गराएर उनीहरूको जीवनको सुरक्षामा थप योगदान पुर्याउने लक्ष्य पनि क्लिनिकले लिएको छ ।
यस क्षेत्रमा विगतमा स्वास्थ्य सेवाको अभावकै कारण बर्सेनी धेरैले ज्यान गुमाइरहेको र मौसम खराब हुँदा हेलिकोप्टर उद्धार सम्भव नभएपछि, गम्भीर बिरामीहरूले जोखिम मोलेर पैदल यात्रा गर्नुपर्ने बाध्यतालाई चिर्न क्लिनिक सफल हुने वरिष्ठ स्वास्थ्य सहायक रामबहादुर भैया र डा.मिलन सिंह पाण्डे बताउनुहुन्छ । क्लिनिकले महिला स्वास्थ्यको लागि पनि सेवा उपलब्ध गराउने जनाएको छ ।