शिक्षा र स्वास्थ्यको गुणस्तरमा सरकारले कुनै सम्झौता गर्दैन : मन्त्री गुप्ता

शिक्षा र स्वास्थ्यको गुणस्तरमा सरकारले कुनै सम्झौता गर्दैन : मन्त्री गुप्ता

पर्सा, २१ कात्तिक । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले शिक्षा र स्वास्थ्यको गुणस्तरमा राज्यले कुनै सम्झौता नगर्ने बताउनुभएको छ ।

टैरीमाई क्लबद्वारा आज बुधबार पर्साको जगतपुरमा आयोजित शैक्षिक जनचेतना तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले शिक्षा र स्वास्थ्य आधारभूत मानव अधिकारको रूप भएकाले राज्यले गुणस्तरमा कुनै सम्झौता नगर्ने बताउनुभएको हो । व्यक्ति, परिवार र समग्र समुदायको विकासका निम्ति शिक्षा र स्वास्थ्य सेवा अत्यन्त महत्वपूर्ण रहेको उहाँको भनाइ छ ।

‘शिक्षा र स्वास्थ्य दुवै क्षेत्रमा गुणस्तर कायम गर्दै क्षमता बढाउनेतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्छ । नयाँ शैक्षिक संस्थाहरू खोल्ने भन्दा भएका संस्थाहरूको क्षमता वृद्धि गरी अघि बढ्नु उपयुक्त हुन्छ । यसले खर्च कम हुनाका साथै गुणस्तरमा पनि गुणात्मक विकास हुन्छ ’उहाँले भन्नुभयो ।

शिक्षाले वर्तमान समयको आवश्यकता पूरा गर्न सक्नुपर्ने धारणा उहाँको छ । नेपालमा उत्पादित जनशक्तिले अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धा गर्न सक्नुपर्ने भन्नुहुँदै उहाँले नेपालका लागि गुणस्तरीय शिक्षाको आवश्यकता औंल्याउनुभयो । नेपालको विद्यमान गरिबी, बेरोजगारी र अशिक्षा जस्ता समस्याको समाधान गर्न पनि गुणस्तरीय र व्यावहारिक शिक्षा आवश्यक रहेको उहाँले बताउनुभयो ।

शिक्षा र स्वास्थ्यको उचित व्यवस्थापनले मात्रै नेपाली समाजमा समानता, सामाजिक न्याय र अवसरहरू सिर्जना हुने उहाँको भनाइ छ । मन्त्री गुप्ताले नेपालको शैक्षिक गुणस्तर बढाउनका लागि राज्य, गैरसरकारी संस्था र जनसमुदायको भूमिका उत्तिकै महत्त्वपूर्ण रहेको र मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै, मन्त्री गुप्ताले टैरीमाई क्लबले छोटो समयमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सफल भएको बताउनुभयो । विगतको आठ वर्षदेखि शिक्षा क्षेत्रमा काम गर्दै आएको क्लबले थुप्रै काम गरेको स्मरण उहाँले गर्नुभयो । बालबालिकाले विद्यालयमा शिक्षकसँग ज्ञान लिएर मात्रै उसको शिक्षा पूरा नहुने चर्चा गर्नुहुँदै मन्त्री गुप्ताले बालबालिकाहरूलाई अभिभावकले पनि घरमा उचित शिक्षा दिनुपर्ने आवश्कता औँल्याउनुभयो ।

यस्तै, उहाँले सीमित स्रोतसाधनबाट अधिकतम उपलब्धि हासिल गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘देश दिनप्रतिदिन गरिब हुँदै गएको छ । थोरै लगानीमा पनि धेरै उपलब्धि हासिल गर्नुपर्ने अवस्थामा हामी छौँ । कार्यक्षमता विकास नै अहिलेको आवश्यकता हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *