उपनिर्वाचन : हेटौँडा–१२ मा यस्तो थियो गत निर्वाचनको मत परिणाम, यसपटक कसको पल्ला भारी ?

उपनिर्वाचन : हेटौँडा–१२ मा यस्तो थियो गत निर्वाचनको मत परिणाम, यसपटक कसको पल्ला भारी ?

हेटौँडा, २३ कात्तिक । निर्वाचन आयोगले रिक्त स्थानमा मंसिर १६ गते उपनिर्वाचन गर्ने तयारी थालेपछि हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ पनि चर्चामा रहेको छ । १२ नम्बर वडामा वडा अध्यक्ष पदका लागि निर्वाचन हुँदै छ ।

वडा अध्यक्षका लागि नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र नेकपा (एमाले) मुख्य प्रतिस्पर्धीका रुपमा देखापरेका छन् ।

२०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा यी तीन पार्टीबीच तीव्र प्रतिस्पर्धा भएको थियो । हालसम्म अहिलेको निर्वाचनमा पनि त्यही अवस्था देखिन्छ ।

गत चुनावमा हेटौँडा–१२ माओवादी केन्द्रका ललितबहादुर घलानले १ हजार ३७१ मत पाएर विजयी हुनुभएको थियो । उहाँका प्रतिस्पर्धी कांग्रेसका अर्जुनप्रसाद तिवारीले १ हजार ३४० मत पाउनुभएको थियो । यस्तै, एमालेका राजेश नगरकोटीले १ हजार ३२५ मत पाउनुभएको थियो ।

गतनिर्वाचनमा तीन दलका उम्मेदवारबीचको मतान्तरमा खासै फरक छैन । विजय भएका माओवादीका घलान र दोस्रो भएका कांग्रेसका तिवारीबीच ३१ मतको मात्र फरक थियो । यस्तै, विजयी घलान र तेस्रो भएका एमालेका नगरकोटी ४६ मतको अन्तर थियो । दोस्रो भएका तिवारी र नगरकोटीबीच भने १५ मतको मात्र फरक थियो ।

गत निर्वाचनमा तीनै दलका उम्मेदवारले पाएको मतलाई हेर्दा चुनावमा कसले बाजी मार्छ अनुमान लगाउन सक्ने अवस्था नरहेको स्थानीय मतदाता बताउँछन् ।

माओवादीबाट वडा अध्यक्षमा विजयी घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख भएपछि उक्त स्थान खाली रहेको थियो । जुन स्थानका लागि निर्वाचन आयोगले निर्वाचन गराउन लागेको हो । जसका लागि माओवादीले रविन प्रधानलाई वडा अध्यक्षको उम्मेदवार बनाउने सर्वसहमत निर्णय रहेको छ ।

यस्तै, एमालेले पनि राजेश नगरकोटीलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । गतस्थानीय तहको निर्वाचनमा पनि उम्मेदवार रहेका नगरकोटी यसपटक पनि सर्वसहमत उम्मेदवार छनोट हुनुभएको हो ।

कांग्रेसले भने अझै वडा अध्यक्षको उम्मेदवारको टुंगो लगाउन सकेका छैन । वडाबाट पाँच जनाको नाम सिफासिर भएपनि जिल्ला पार्टी समितिबाट अन्तिम टुंगो लगाउन सकेको छैन । वडाबाट अर्जुन तिवारी, शरण घिसिङ, कुमार पोखरेल, गीता न्यौपाने, सुर्दशन लामाको जिल्लामा सिफारिस भएको जनाइएको छ । जिल्ला तहका एक नेताका अनुसार तिवारीलाई उम्मेदवार बनाउने तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *