काठमाडौँ, २८ कात्तिक । नेपाली महिला क्रिकेट टोली विश्वकपमा छनोट भएको छ । नेपाल आइसिसी यू–१९ महिला टी–२० विश्वकपमा छनोट भएको हो ।
एसियाली छनोटको अन्तिम खेलमा बुधबार युएईलाई हराएर नेपालले पहिलोपटक विश्वकपमा स्थान बनाएको हो ।
एसिया छनोटमा ६ खेलमा ५ जित निकाल्दै नेपाल विश्वकपमा छनोट भएको हो । समान अंक भए पनि नेपालले युएईलाई नेटरनरेटमा पछाडि पार्दै विश्वकपमा स्थान बनाएको हो । पहिला ब्याटिङ गरेको युएईलाई ८३ रनमा सीमित गर्दै नेपालले जितको आधार बलियो बनाएको थियो ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो । युएईका लागि समाइरा धर्निधर्कले सर्वाधिक ३१ रन बनाएकी थिइन् ।
बलिङमा नेपालीका कृष्मा गुरुङ ४, सीमा केसी र रिया शर्माले २–२, र रचनाकुमारी चौधरीले एक विकेट लिएका थिए ।
नेपालका लागि साना प्रविनले सर्वाधिक ३५ रन बनाइन् । कप्तान पूजा महत्तोले २१ रन र सोनी पाख्रिनले १३ रनमा बनाइन् ।
नेपालले १५औँ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । नेपालले आगामी जनवरीमा मलेसियामा हुने आइसिसी यू–१९ महिला टी–२० विश्वकपमा खेल्ने छ ।