काठमाडौँ, ६ मंसिर । गत असोज ११ र १२ गतेको बाढी पहिरोले क्षतिग्रस्त भएको बिपी राजमार्गमा रातको समयमा सवारी सञ्चालन बन्द गरिएको छ ।
सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार राजमार्ग राति ९ बजेदेखि बिहान ४ बजेसम्म दैनिक ७ घन्टा बन्द हुने छ ।
सडकखण्डअन्तर्गत चौकीडाँडा, नार्के बजार र कालढुंगा (भ्याकुरे खोला)देखि माम्तीखोलासम्म डाइभर्सन मर्मत भइरहेकाले सडक बन्द गरिएको हो । रातिको समयमा राजमार्गको विभिन्न सडकखण्डमा डाइभर्सन मर्मत भइरहेको सडक डिभिजन कार्यालय भक्तपुरले जारी गरेको सूचनामा जनाइएको छ ।
बिपी राजमार्गको प्रस्थानबिन्दु धुलिखेलदेखि सिन्धुलीको बर्खेखोलासम्म गएरातिदेखि सात घन्टा सवारी साधन सञ्चालन बन्द गरिएको कार्यालयले जनाएको छ ।
सडक कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि तोकिएको समयमा उक्त राजमार्गमा गाडी नचलाउन आग्रह गरेको छ ।