काठमाडौँ, ८ मंसिर । सिर्जनशील बिउ उत्पादक कृषक समूहले कृषकहरुले उत्पादन गरेको तरकारी बारिमै नकुहियोस् भनेर शनिबार बडिखेलमा हाटबजार लगाएको छ ।
७ वर्षदेखि १०० रुपैयाँ जम्मा गर्दै आएको यो संस्थाले अहिले २२ जनाको कार्यसमिति बनाएर हाटबजार सञ्चालनमा ल्याएको हो ।
घरेलु किसानहरुलाई फाइदा पुग्ने गरी हाटबजार सञ्चालनमा ल्याएको सिर्जनशील बिउ बैंकको अध्यक्ष नवीना नगरकोटीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हाटबजार सञ्चालन गर्दा घरेलु किसानहरुलाई धेरै नै फाइदा हुन्छ । करेसाबारीमा उत्पादन गरेको तरकारी फल्ने समयमा धेरै हुँदा कुहिएर जान्छ र हाम्रो मेहनतको फल प्राप्त गर्न सकिँदैन । त्यहीँ समयमा करेसाबारीमा फलेको तरकारीहरु हाटबजारमा ल्याएर बेच्ने गर्दा राम्रो आम्दानी समेत हुन्छ । आफूसँग धेरै भएको तरकारी हाट बजारमा राखेर नभएको तरकारी साटेर खान पनि मिल्छ । यसै कारणले यो क्षेत्रका तरकारी कृषकहरु खुसी पनि छन् ।’
साथै, उहाँले यो समूहमा ९३ जना कृषक रहेको समेत बताउनुभयो । उहाँले एक जनाबाट सुरु गरेको यो संस्थामा अहिले ९३ जनामध्ये २२ जनाले कृषि नै गरिरहेको बताउनुभयो । यो हाट बजार गाउँका लागि राम्रो भएको तरकारी किन्ने ग्राहकहरुको भनाइ छ ।
हाट बजारमा रायो, काउली, मुला, च्याउ, कागती, टमाटर, बन्दा, हरियो खुर्सानी, धनियाँ, गाजर , सिमीजस्ता तरकारीहरुको बेच्नका लागि राखिएका छन् ।
दिनको २ हजारदेखि २५ सयसम्म आम्दानी हुने गरेको कृषक व्यापारीहरुले बताए । साथै कहिलेकाहीँ हप्ताको ८ हजार रुपैयाँ समेत आम्दानी हुने गरेको उनीहरुको भनाइ छ ।