सामाजिक सञ्जालको दुरुपयोग देशको विकासको बाधक बन्यो : मन्त्री गुरुङ

सामाजिक सञ्जालको दुरुपयोग देशको विकासको बाधक बन्यो : मन्त्री गुरुङ

काठमाडौँ, १८ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जालको दुरुपयोग देशको विकासको बाधकको रुपमा देखा परेको बताउनुभएको छ ।

मंगलबार काठमाडौँमा आयोजित ‘डिजिटल सुरक्षाका लागि सहयोगी दृष्टिकोण’नामक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सामाजिक सञ्जालले समाजमा सद्‌भाव भत्काएर दुर्भाभवना फैलाउने प्रयत्न गरिराखेको भन्दै यसको रोकथाम जरुरी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘सामाजिक सञ्जाल कमसेकम मर्यादित बनाउनुपर्छ । व्यवस्थित बनाउनुपर्छ । सद्‌भाव भत्काएर दुर्भाभवना फैलाउने काम प्रयत्न गरिराखेको छ । यो चिज चाहिँ हाम्रो विकासका लागि बाधक छ । हाम्रो आइटी क्षेत्रको विकासकै लागि पनि यो बाधक छ । यसबाट पनि चुनौतीहरु बढेको छ । अपराधहरु बढेको छ । यसलाई रोकथाम गर्नुपर्छ ।’

उहाँले सामाजिक सञ्जालको सुरक्षित सञ्चालनका लागि सरकार सधैँ सकारात्मक रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘सामाजिक सञ्जालको सुरक्षित सञ्चालनका लागि सरकार सँधै सकारात्मक छ । तथापिः नेपालको प्रचलित कानुन ऐनको कार्यविधिविपरीत गएर सञ्चालन हुन नदिने विषयमा समेत सरकार सचेत छ ।’

मन्त्री गुरुङले देशमा अहिले सामाजिक सञ्जाल अराजक बन्दै गइरहेको टिप्पणी गर्नुभयो । सांस्कृतिक सहअस्तित्वको नमुना देशलाई खलबल्याउने काम सामाजिक सञ्जालबाट भएको भन्दै यसको नियमन गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो,‘हाम्रो देशमा, समाजमा अहिले अराजक भनेकै सामाजिक सञ्जाल रहेको छ । हामी भन्छौँ नि दही जस्तै जमेको विविधतामा एकता भएको बाँधिएर बसेको हाम्रो समाज भनेर । सांस्कृतिक सहअस्तित्वको नमुना देश नेपाल तर आज सामाजिक सञ्जालको गलत प्रयोगले दहि जस्तो देशमा कागती निचोर्ने काम भएको छ । त्यसैले सामाजिक सञ्जालको नियमन एकदमै जरुरी छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *