काठमाडौँ, २९ मंसिर । गृहमन्त्री रमेश लेखकले सहकारी ठगीमा संलग्नमाथिको अनुसन्धान प्रभावित हुने काम कसैले पनि गर्न नहुने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन नवलपुरद्वारा शनिबार कावासोतीमा आयोजित पत्रकार भेटघाटमा गृहमन्त्री लेखकले लोकतन्त्रमा भीडले न्याय नदिने भन्दै न्यायिक प्रक्रियाबाट नै हरेक गतिविधिको छिनोफानो हुने बताउनुभयो ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि मानवअधिकार उल्लंघनको कुनै पनि व्यवहार नभएको भन्दै अदालतको आदेशअनुसार नै अनुसन्धान भइरहेको गृहमन्त्री लेखकले बताउनुभयो । ‘रविजीमाथि मानवअधिकार उल्लंघनको कुनै काम भएको छैन । सरकार हरेक व्यक्तिको मानवअधिकार रक्षाका लागि प्रतिबद्ध छ,’ उहाँले भन्नुभयो, ‘सहकारी ठगीमा संलग्म्लन जो कोहीमाथि अनुसन्धान हुन्छ ।’
जनताले दुःख गरेर जम्मा गरेको करोडौँ रकम हिनामिना गर्नेमाथि अनुसन्धान हुँदा भीड जम्मा गर्ने, अदालत तथा न्यायिक निकाय घेराउ गर्ने जस्ता गतिविधि हुनु दुर्भाग्यपूर्ण भएको उहाँको भनाइ छ ।
मुलुकमा दिगो विकास, शान्ति, सुशासन तथा समृद्धिका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो । ‘स्थायी सरकार नहुँदा आर्थिक गतिविधि चलायमान हुन सकेको थिएन, सुशासन कायम भएन, विकास निर्माणका काम पनि द्रुत गतिमा अघि बढ्न नसकेपछि वर्तमान गठबन्धन सरकार गठन भएको हो,’ उहाँले भन्नुभयो ।
गृहमन्त्री लेखकले वर्तमान गठबन्धनको विषयमा विभिन्न प्रकारको हल्ला फैलाउने कोसिस भएको भन्दै यो गठबन्धन २०८४ सालको निर्वाचनसम्मै कायम रहने जिकिर गर्नुभयो । संविधान संसोधन तथा राजनितिक स्थायित्वका लागि वर्तमान गठबन्धनको आवश्यक्ता महसुस भएकाले जनचाहना अनुसार काम हुने उहाँको दाबी छ ।