काठमाडौँ, ७ पुस । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेल क्षेत्रको विकासका लागि सबैभन्दा ठुलो चुनौती भौतिक पूर्वाधार रहेको बताउनुभएको छ । काठमाडौँमा आइतबार पत्रकार सम्मेलन गर्नुहुँदै उहाँले खेलकुद र खेलाडीको वृत्ति विकासका लागि भौतिक पूर्वाधारको अभाव रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सबैभन्दा ठुलो चुनौतीको रुपमा अहिले हामीसँग भौतिक पूर्वाधारको अभाव छ । खेलकुदमा हामीले सोचेअनुसारको बजेट छैन । सबैभन्दा कम बजेट खेलकुद मन्त्रालयमा छ । कुल बजेट ३ अर्ब ५० करोड रुपैयाँ छ । एउटा नगरपालिका, महानगरपालिकाको बजेट २६÷२७ अर्ब हुन्छ ।’
मन्त्री चौधरीले मूलपानी, विराटनगर क्रिकेट रङ्गशाला, कीर्तिपुर रङ्गशालामा गरी कुल १२ अर्बभन्दा बढीको लागत लाग्ने उहाँले बताउनुभयो । त्यस्तै, सातै प्रदेशमा तत्काल क्रिकेट रङ्गशालाको खाँचो देखिएको पनि उहाँले बताउनुभयो ।
यसैगरी, नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले भौतिक संरचनाको अभावमा सोचेअनुरुप खेल र खेलाडीको विकास हुन नसकेको बताउनुभयो । उहाँले क्रिकेटका लागि टियू मैदानको पूर्वाधारले मात्रै नधान्ने र अन्य पूर्वाधारको विकार कछुवाको गतिमा भइरहेको बताउनुभयो । उहाँले मूलपानी, गौतमबुद्धलगायतका राष्ट्रिय गौरवको आयोजनाको काम कछुवाको गतिमा भइरहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘सुरुवाती चर्चाजस्तै पूर्वाधार, टियू मैदानको पूर्वाधारले पुगेन । मूलपानी कछुवाको गतिमा भयो, गौतमबुद्ध भएन । सुदूरपश्चिम र मधेसमा त गतिलो चौर पनि छैन ।’